Breaking

निर्मला हत्या प्रकरणको अनुसन्धान गर्न पाँच सदस्यीय समिति गठन


काठमाडौँ— नेपाल प्रहरीले निर्मला पन्तको हत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरीले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

प्रहरीले प्रहरी नायव महानिरीक्षक डिआइजी पूजा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो। डिआइजी सिंह हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबी मा कार्यरत छिन्। उनी यस घटनाको अनुसन्धानमा पनि खटिएकी थिइन्। त्यतिबेला सिंह प्रहरी उपरीक्षक थिइन्।

गत सोमबार गृहमन्त्रीको कार्यभार सम्हालेपछि रवि लामिछानेले आफ्नो पहिलो काम निर्मला पन्तको हत्यारा पत्ता लगाउनु रहेको बताएका थिए। उनैको निर्देशनबमोजिम छानबिन समितिको गठन गरिएको हो।

समितिमा प्रहरी उपरीक्षक कमल थापा, प्रहरी निरीक्षक धीरेन्द्र रोकायासहित चिकित्सक सहभागी छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले शुक्रबार हालसम्म भएका कामहरूबारे सूचना दिइएको बताए।

कञ्चनपुरको भीमदत्त नगरपालिका ३ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको हो। २०७५ साउन १० गते घरबाट हराएकी निर्मला ११ गते बिहान घरनजिकैको उखुबारीमा अवस्थामा मृत अवस्थामा भेटिएकी थिइन्।

निर्मला हत्या प्रकरणको अनुसन्धानमा सुरुदेखि नै केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोली सक्रिय थियो।

निर्मलाको हत्यापछि जति प्रहरी अधिकारीहरू आए पनि उनीहरू सबैले अपराधीसम्म पुग्ने केही पनि तथ्य प्रमाण फेला नपरेको बताउँदै आएका छन्।