Breaking

ब्राजिलका विश्वविख्यात फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन, विश्वभरका फुटबलप्रेमी स्तब्ध


काठमाडौँ — विश्वविख्यात फुटबल खेलाडी पेलेको निधन भएको छ । क्यान्सरबाट पीडित पेलेको उपचारको क्रममा ८२ वर्षको उमेरमा निधन भएको हो । पेलले भौतिक शरीर त्यागे पनि विश्वभरका फुटबलप्रेमीको मन–मनमा बस्न सफल भएका छन् । विश्व खेल जगतमा एउटा नाम सदाबार गुञ्जिरहन्छ त्यो हो पेले । उनी फुटबल खेलाडी थिए । एक प्रकारले उनी फुटबल खेल र ब्राजिल देशकै पर्यायजस्तै रहे । फुटबलबारे रूची नहुनेका लागि पनि पेलेबारे भने केही थाहा हुन्छ ।

यसले पनि देखाउँछ, यी पेले फुटबलका कति धेरै सर्वकालीन महान खेलाडी हुन भनेर । ब्राजिल देश नै सबैतिर चिनिनु र लोकप्रिय हुनुका पछाडि फुटबल र पेलेलाई कारण मानिन्छ । सन् १९४० अक्टोबर २३ तारिखमा मिनास गोराइसमा जन्मिएका पेले बाल्यकालदेखि नै फुटबल खेल्थे । बाबुबाटै फुटबल खेल्ने प्रेरणा पाएका पेले सानैबाट लगनशील थिए ।पेलेको बाल्यकालको नाम एडसन आरन्तेस डो नासिमेन्तो हो । तर, पछि उनको नाम पेले रहन गयो ।

उनै विश्वका महान फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा ब्राजिलमा निधन भएको छ । उनको निधनको घोषणा उनकी छोरीले गरेकी हुन् जो उनीसँगै साउपाउलोस्थित अस्पतालमा थिइन् । पेलेसँग विश्व फुटबलका धेरै अद्वितीय कीर्तिमान जोडिन्छ । जस्तो कि उनले विश्व कीर्तिमान १ हजार २ सय ८१ गोल गरेका छन् । १ हजार ३ सय ६३ खेल खेलेका छन्। उनले किशोर खेलाडीका रूपमा ब्राजिली क्लब सान्तोसबाट खेल जीवन सुरु गरे र न्युयोर्क कसमासमा पुगेर त्यसलाई पूर्णविराम लगाए ।

उनले जहाँ, जति खेल खेले, त्यहाँ सबैको मन जित्न सफल भए । १७ वर्षको उमेरमा अन्तर्राष्ट्रिय खेलाडीका रूपमा सुरु भएको उनको खेल जीवनमासन् १९५८ देखि १९७० को बीचका विश्वकप प्रतियोगितामा भाग लिए । उनले सन् १९५८, १९६२ र १९७० मा ब्राजिलले विश्वकप जित्दा टिमका प्रमुख सदस्य थिए । सन् २००० मा पेलेलाई फिफाले शताब्दीकै उत्कृष्ट फुटबलर घोषित गरेको थियो पेलेले एक हजारभन्दा बढी गोल गरेका छन् ।

जसमा धेरैजसो उनले घरेलु क्लब सान्तोसका लागि गरेका थिए । पेले पछिल्लो समय मृगौला र प्रोस्टेटको समस्याबाट ग्रसित थिए । गत वर्षको सेप्टेम्बरमा पेलेको पेटको ट्युमर फाल्न शल्यक्रिया गरिएको थियो । फुटबल इतिहासमा हालसम्म तीन पटक विश्वकप जित्ने एक मात्र खेलाडी पेले हुन् । १९५८ मा ब्राजिलले पहिलो पटक विश्वकप उचाल्दा पेले १७ वर्षकाथिए । १२ वर्षपछि मेक्सिकोमा भएको विश्वकप ब्राजिलले जित्दा उनी यस्तो टोलीका सदस्य थिए जुन अहिले पनि सबैभन्दा राम्रो टोलीमध्ये एक ठहरिन्छ।उक्त विश्वकपको फाइनल खेलमा पेलेले एक गोल र थप दुई गोलका लागि पास मिलाएका थिए।

ब्राजिल अनि पेले दुवैले तेस्रो पटक विश्वकप उपाधि उचाले। खेल जीवनमा उनले गरेको १२ सयभन्दा बढी गोलमध्ये विश्वकपको फाइनल खेलमा त्यो एक गोल पनि समावेश छ। ब्राजिललाई विश्वको सबैभन्दा राम्रो फुटबल टोलीका रूपमा स्थापित गर्नुका साथै काला जातिका पुरुष पेलेले अझ महत्वपूर्ण काम पनि गरे दासत्वको लाजमर्दो विगत र आजसम्म कायम रहेको पृथकताको विरासत भएको भूमिमा उनी राष्ट्रिय सम्पत्तिका रूपमा स्थापित हुन पुगे । आफ्नो खेल जीवनको बेला होस या संन्यास लिएपछि पेलेले ब्राजिलमा रङ्गभेदविरुद्ध भएका औपचारिक प्रयासहरूमा सक्रिय रूपमा संलग्नता जनाएनन् ।

सन् २०१४मा ब्राजिलएन च्याम्पियनशिप खेलमा भएको जातीय दुव्र्यवहारको घटनालाई सामान्य बनाउन खोजेको भन्दै उनको व्यापक आलोचना भएको थियो ।अमेरिकाको पहिलो व्यवसायिक फुटबल लीगपश्चात् सन् १९७७ मा पेलेले खेल जीवनबाट संन्यास लिएका थिए । उनले प्रशिक्षक वा व्यवस्थापकको भूमिका कहिल्यै निर्वाह गरेनन् ।

यद्यपि उनी सन् १९९५ देखि १९९८सम्म ब्राजिलको खेलकुद मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । पेलेले जसरी फुटबल खेले, त्यसले खेलको परिभाषालाई नै परिवर्तन गरेको मानिन्छ । त्यसैले भनिन्छ, विश्व फुटबलमा पेलेजत्तिको खेलाडी न त थियो, न छ, न रहनेछ । पेले अर्थात फुटबलका जादुगर अब सम्झनामा मात्रै रहने छन् । तर, उनले दिएको योगदान र पाएको उपलब्धिले भने सिंगो फुटबल जगतले सदा सम्झिरहने छ ।