Breaking

शेखरको आरोप : देउवा र प्रचण्डका कारण गठबन्धन टुट्यो


काठमाडौँ – नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले गठबन्धन टुट्नुमा पार्टी सभापति शेरबहादुर देउवा र वर्तमान प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दोष लगाएका छन् ।

आज बिहान विराटनगरस्थित कोइराला निवासमा स्थानीय सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेता कोइरालाले तत्कालीन सत्ता गठबन्धन लामो समयसम्मका लागि बने पनि आफ्ना पार्टी सभापति देउवाको अदूरदर्शिता र माओवादी अध्यक्ष प्रचण्डको प्रधानमन्त्री पदप्रतिको आशक्ति जिम्मेवार भएको आरोप लगाएका हुन् ।

कोइरालाले सरकारमा नजाँदैमा कांग्रेस खुम्चिने र कमजोर नहुने पनि दाबी गरे । नेपाली कांग्रेस ठूलो शक्ति भएकाले अब जिम्मेवार प्रमुख प्रतिपक्षको भूमिका सदन र सडकमा कांग्रेसले निर्वाह गर्ने बताए ।

पाँचदलीय गठबन्धनबाटै सरकार गठन गर्ने कुरा भइरहेका बेला देउवा र प्रचण्डबीच को प्रधानमन्त्री बन्ने भन्ने विषयमा सहमति नहुँदा अन्तिम समयमा माओवादी केन्द्रले नेकपा एमालेलगायत सात दलको समर्थनमा सरकार गठन गरेको हो ।