Breaking

सन्दीपको पुनरावेदनमा आज सुनुवाइ हुँदै


काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेश विरुद्धको पुनरावेदन मुद्दामा आज (बिहीबार) पेशी तोकिएको छ ।

यसअघि गत ७ पुसका लागि पेशी तोकिएको थियो । तर, सर्वोच्च बारको अधिवेशनमा वरिष्ठ अधिवक्ताहरु व्यस्त भएपछि पेशी सरेको थियो । जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए ।

नाबालिग किशोरीलाई जबरजस्ती बलात्कारको अभियोगमा थुनामा पठाइएका लामिछानेका कानुन व्यवसायीले गत मंसिर २९ गते पुनरावेदन दर्ता गराएका थिए । पीडित भनिएकी किशोरीको २ वटा जन्मदर्ता रहेको र उनी नाबालिग नभएको भन्दै अलालतमा प्रमाण पेश गरेका छन् । अदालतले त्यसबारेमा सम्बन्धित कार्यालयबाट प्रमाण समेत झिकाइसकेको छ ।

तीनै दोहोरो कागजातका आधारमा पीडित नाबालिग नरहेको र लामिछानेले जबरजस्ती करणी पनि नगरेको दाबीसहित उनी पक्ष उच्च अदालत पुगेको हो । यसअघि जिल्ला अदालतमा थुनछेकको बहसका क्रममा सन्दीपका वकिलहरुले नाबालिग भनिएकी पीडितको उमेर १८ वर्ष ३ महिना भइसकेकाले अभियोग नै गलत भएको तर्क गरेका थिए ।

नाबालिगले जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी दिएपछि सन्दीपलाई प्रहरीले गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रक्राउ गरेर अनुसन्धान गरेको थियो।