समाचार

नारच्याङको सुन्तला पहिलो पटक चिस्यान गृहमा भण्डारण


काठमाडौँ — म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका कृषकले जिल्लामै पहिलो पटक चिस्यान गृहमा सुन्तला भण्डारण गरेर राखेका छन् ।

मौसमअनुसार कृषिउपज उत्पादन गर्ने कृषकले बजार र मूल्य नपाउने समस्या हटाएर बेमौसममा बिक्री गरी राम्रो आम्दानी गर्नका लागि चिस्यान गृहमा सुरक्षित भण्डारण गरेका हुन् ।

चिस्यान गृहमा सुन्तला भण्डारण गरेर सहज बजार र उचित मूल्य पाउने कृषकको अपेक्षा छ । नारच्याङ, बाँसबोट, गाडपार र घरापका कृषकले उत्पादन गरेको सुन्तला चिस्यान गृहमा भण्डारण गरेर राखिएको न्यू अन्नपूर्ण कृषि तथा पशु मल्टी एग्रोका सञ्चालक प्रेम गुरुङले बताए ।

“स्थानीय कृषकहरुबाट खरिद र आफ्नै बगैचाको दश हजार किलोग्राम सुन्तला टिपेर चिस्यान गृहमा राखेको छु,” उनले भनेयो “चैत–वैशाखको बेसिजनमा बजारमा सुन्तला पठाउने तयारी छ ।” गुरुङले आफ्नै बारीमा फलेका र अन्य कृषकको सुन्तला खरिद गरेर भण्डारण गरेको बताए ।

अहिले प्रतिकिलो ६० रुपैयाँ देखि ७० का दरले बिक्री भएको सुन्तला चैत–वैशाखसम्म राख्दा प्रतिकिलो १६० देखि २०० रुपैयाँ सम्म बिक्री हुन्छ । याममा राम्रो मूल्य र बजार नपाउने भएपछि नारच्याङका कृषकहरुले यसअघि फागुन सम्म सुन्तला बोटमै राख्ने गरेका थिए ।