काठमाडौँ — प्रधानमन्त्री पद माओवादीलाई दिएपछि एमालेले राष्ट्रपति लिने पक्का जस्तै छ।नेकपा एमाले र नेकपा माओवादी केन्द्र सहितको नयाँ समिकरण बनेपछि राष्ट्रपति को बन्ला भन्ने चासो फेरि बढेको छ। कांग्रेस सहितको पाँच दलीय सत्ता गठबन्धन कायमै रहेको बेलामा राष्ट्रपतिका लागि दर्जनभन्दा बढीको नाम सार्वजनिक भएको थियो । राष्ट्रकै उच्च सम्मानीत ओहोदाका लागि राजनीतिक नेतादेखि गैरदलीय व्यक्ति अनुराधा कोइराला सम्मका आकांक्षी थिए । जसमा पछिल्लो समय रामचन्द्र पौडेल, बाबुराम भट्टराई, कृष्णबहादुर महराको नाम सबैभन्दा बढी चर्चामा थियो ।
तर, कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो ढिपी नछोडेपछि ती सबैको सपना तासको घर झै ढलेको छ । बालुवाटारमा सत्ता गठबन्धन फुटेर बालकोटमा जोडिएपछि गठबन्धनबाट राष्ट्रपतिका लागि उठेको सबै नामका ढोका नै बन्द भएको छ भने फेरि बालकोट गठबन्धनका आकांक्षीहरुको रस्साकस्सी शुरु भएको छ । १७ पटकसम्म सदनमाप्रधानमन्त्रीको चुनाव हारेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको अन्तिम आश राष्ट्रपतिको थियो ।
यदि देउवाले प्रचण्डसँग सहमति गरेका भए पौडेलको इच्छा पूरा हुने निश्चित जस्तै थियो । तर, एमाले अध्यक्ष ओलीले तासको अन्तिम कार्ड पल्टाएसँगै पौडेलले मुखैमा हालिसकेको राष्टपतिको गाँस पुनः भुईमै राख्न बाध्य बने । राष्ट्रपति बन्नकै लागि संसदीय दलको चुनावमा देउवाको प्रस्तावक बनेका पौडेलले देउवाका कारण गठबन्धन फुटेको र आफ्नो राष्ट्रपति पद गुमेको आरोप लगाइरहेका छन् । तर, यता राष्ट्रपति एमालेबाटै हुने भएपछि पार्टी फुटाएका माधव नेपालको नाम पनि बहसमा आएको छ । पूर्व एमालेलाई एक बनाउन लागिपरेका दोस्रा तहका नेता नेपाललाई राष्ट्रपति दिएरै भए पनि कम्युनिष्टहरु एक ठाउँमा उभ्याउने रस्साकस्सीमा छन् ।
हालको राष्ट्रपति विद्यादेवी भण्डारीको दुई कार्यकाल समाप्त भएसँगै उनी संविधानत पुन राष्ट्रपति बन्न सक्दिनन् । त्यसैले संसदीय अंक गणित बुझेका ओलीको प्राथमिकतामा सदन बाहिरका नेता पर्नसक्छन् । जसमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र निर्वाचन नै नलडेकी अष्टलक्ष्मी शाक्यको नाम चर्चामा छ । त्यस्तैशाक्यकै श्रीमान् अमृत बोहरा युवराज ज्ञवालीको नाम पनि चर्चामा आएको छ । तर, महिला पनि भएका कारण यो रेसमा शाक्यले बाजी मार्ने सम्भावना बलियो छ । त्यस्तै यसै रेसमा रहेका उपाध्यक्ष सुवासचन्द नेम्वाङको उपस्थितिले शाक्यलाई कमजोर पार्ने आँकलन गर्न सकिन्छ ।विश्लेषक पनि पटक पटक ओलीको निकट भएर काम गरेकानेम्वाङ ओलीको रोजाइमा पर्ने दाबी गर्छन् ।
भूगोल जस्तै नेपालको राजनीति पनि घुमाउरो छ । सिधा बाटो कोही पनि हिड्दैनन् । ओली पनि आफ्नो विश्वास पात्रलाई राष्ट्रपतिमा बसाउन चाहन्छन् । दुई वर्ष अघि शाक्यबाट घात भएको स्मरण ओलीलाई छ । जसका कारण नेम्वाङको पल्ला नै भारी देखिन्छ । विगतमा मधेशी समुदायबाट रामवरण यादव राष्ट्रपति भएका थिए भने महिलाबाट विद्यादेवी भण्डारी राष्ट्रपति भैसकेकी छिन्। तर अहिलेसम्म जनजाति समुदायबाट राष्ट्रपति भएका छैनन्।
नेम्वाङ त्यसैले पनि राष्ट्रपतिका बलियो दाबेदार हुन सक्छन्।संविधानको रक्षक र गणतन्त्रको मियोको रुपमा स्वीकारिएको राष्ट्रपति पद कार्यकारी नभएता पनि संसद्को अस्थिर अंक गणितमा यसको भूमिका कार्यकारी पद भन्द कम नहुने तथ्य गएको ५ वर्षमा प्रमाणित भइसकेको छ । राष्ट्रपति पदका लागि एमालेभित्र ठूलो रस्साकस्सी भए पनि अबको राष्ट्रपति को बन्छ भन्ने अन्तिम निर्णय भने ओलीकै हुने छ ।
प्रतिक्रिया