Breaking

कसरी एकै ठाँउमा आए ओली–प्रचण्ड,असम्भव भनिएको वाम गठबन्धनको मिलन विन्दु के ?


काठमाडौँ — सत्ताको लोभले हिजो मुखै हेर्न नचाहानेहरु एक ठाँउमा उभिएका छन्। हिजो प्रचण्डलाई प्रधानमन्त्री दिनुपर्छ भनेर संसद विघटन गरेका ओलीकै साथले अहिले प्रचण्ड प्रधानमन्त्री बने । यहि सहकार्यमा साढे दुई बर्षपछि मुल ढोकाबाटै सिंहदवार छिर्ने दाउमा ओली छन् । आखिर कसरी बन्यो त उनीहरु एक ठाँउमा आउने वातावरण ?
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७७ पुस ४ गते संसद् विघटन गरेपछि सम्बन्धमा दरार आएका ओली र प्रचण्ड पुन सत्ता लागि एक ठाँउमा आएका छन ।०७४ सालको निर्वाचनमा एमाले र माओवादी मिलेर चुनाव लडेपछि दुई तिहाइ नजिकको बहुमत प्राप्त गरे पनि उनीहरुकै झगडाले टिक्न सकेन।

यहि कारण माओवादी र एमाले पुरानै अवस्थमा पुग्यो भने माधवकुमार नेपालले पार्टी नै फुटाए । पछि हामी यहाँ छौ भन्दै सडकमा समेत संगै रहेका प्रचण्ड माधव कांग्रेसको साथमा संसदमा पनि साथमा रहे । तर प्रधानमन्त्री कसै गरे नछाड्ने दाउमा रहेका प्रचण्ड माधवलाई नै छोडेर ओलीलाई काध हाल्न पुगे । यता प्रचण्डकै साथ नहुदाँ केन्द्र र प्रदेश हुँदै राष्ट्रपति बाहेक सवै गुमाएका ओली पनि निरन्तर गठबन्धन टुटाउने प्रयासमै थिए ।

बारम्बार आफ्नो अश्त्र फेल खाएका रन्कोमा रहेका ओली निर्वाचनमा माओवादी निर्णायक बनेपछि अझ आत्तिएका थिए । अव वारपारको अवस्था आएको र त्यसो नभए पाँचबर्ष बढारिन पर्ने बुझेका उनी केहि नरम थिए भने प्रचण्डलाई ओलीसँग मिलाउन माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङलगायतका नेतालेसक्रियता बढाएका थिए । यहिवीचमा एमाले उपाध्यक्ष सुवास चन्द्र नेम्बाङले एमालेलाई राष्ट्रपति र सभामुख दिएर प्रधानमन्त्री आफू लिन प्रचण्डलाई आग्रह नै गरे ।

यता कहिले अव प्रचण्डको समय सकिएको बताउने त अव वाम गठबन्धन सम्भव नभएको बताँउदै देउवालाई हौसला दिने र भित्रभित्रै खेल्न स्वयम ओली पनि सक्रिय थिए । जहाँ आफूले मागेको पद नदिएर कांग्रेसले वेईमानी गरेको वहाना माओवादीलाई मिल्यो र गठबन्धनबाट बाहिरिने वातावरण बन्यो ।

यसअघि अमेरिकी सहयोग परियोजना एमसीसी विवादपछि संसद् भवनमै ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो। त्यस्तै ०७७ पुस ४ गते ओली खुमलटार संसद् विघटन हुनुअघि गएका थिए। चुनावपछि भने शीतल निवास र संसद् भवनमा भएको सार्वजनिक भेटकै क्रममा प्रचण्डलाई सहकार्यको प्रस्ताव गरेका थिए। यद्यपी पाँचदलिय गठबन्धनबाटै निकास निकाल्ने प्रयासमा प्रचण्ड थिए । यदि त्यसो हुन नसके मात्र वालकोट फर्किने सन्देश पठाएका उनी कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने अडान कसेपछिओलीसंग मिल्न पुगेका थिए ।

जसमा शक्ती केन्द्रले विश्वास गर्न छाडेको तथा पार्टीमा भईरहेको क्षयीकरण रोक्न कसै गरे प्रधानमन्त्री हुनैपर्ने उनको बुझाईले मुख्य भूमिका खेल्यो भने उपचारका लागि भन्दै चिन पुगेर फर्किका वर्षमान पुनको भूमिका पनि यसमा मुख्य बन्यो । यसै पनि देउवाले आफूलाई दिने भन्दा अल्मतको सरकार गठनको रणनिति तर्फ अघि बढ्दा एमालेलाई पनि जनमत विरुद्धको कार्य रोक्न यो निर्णय लिनुपरेको भन्ने वहाना समेत मिल्यो ।

यहिवीचमा अवको अढाई बर्ष पछि वेईमानी गरे प्रचण्ड एक्लै अघि बढ्न नसक्ने अवस्था छ भने एमालेले राष्ट्रपति र सभामुख जस्तो स्थायी पद आफ्नो पोल्टामा पार्ने छ । अर्कातर्फ अर्थ र गृह जस्ता मन्त्रालय नै भिन्न दलका भागमा पर्दा प्रचण्ड ओलीकै ईशारामा चल्न बाध्य बन्ने स्थिती छ । जहाँ यहि सरकारमा विकल्पको राजनीति गछु भन्नेहरु समेत समेटिएका छन् । यसले पनि ओलीको राजनीतिक चातुर्यता प्रष्ट हुँदा वाम गठबन्धन नै स्वभाविक हुने फाईदामा पनि ओली छन ।

जसले प्रचण्डको अस्थिर चरित्र,नेतृत्वमा पुग्नै पर्ने आकंक्षा तथा निर्णायक बनेको उसको अवस्थाले गठबन्धनका लागि महत्वपूर्ण भूमिका खेलेको छ । जहाँ आफ्नै आसेपासे गुमाएर निरिह बनेका र अहिले नपाए सर्वस्व गुमाउने अवस्था तर गठबन्धन बने आफू शक्ति केन्द्र बन्ने फाईदामा रहेको एमालेको अवस्थाले ओली प्रचण्डलाई एक ठाँउ ल्याउन भूमिका खेल्यो ।