खेलकुद

स्पेनिस क्लबसँगको खेलमा गण्डकी ११ पराजित


काठमाडौँ — पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको खेलमा कासेरेन्योको जितमा कारमेलो २ र स्पेनका पूर्व राष्ट्रिय खेलाडी माइकल कारलेरोले एक गोल गरेका थिए । खेलको २३ औं मिनेटमा कासेरेन्योका खेलाडी कारमेलोले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । ३५ औं मिनेटमा माइकलले अर्को गोल थप्दै अग्रतालाई दोब्बर बनाए ।

दोस्रो हाफमा सुखद पुनरागमन गर्न खोजे पनि गण्डकी ११ असफल रह्यो । दोस्रो हाफको इन्जुरी समयमा कारमेलोले नै टिमका लागि व्यक्तिगत दोस्रो तथा टिमतर्फबाट तेस्रो गोल गर्दै जित सुनिश्चित गरेका हुन् । गण्डकी ११ को टिमलाई अनिल गुरुङले कप्तानी गरेका थिए । गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ पनि मैदान उत्रिएका थिए । उनी डिफेन्डरको जिम्मेवारी सम्हाल्दै खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । लुम्बिनी गार्डेन फाउन्डेसनले आयोजना गरेको खेलमा सहभागी हुन ५५ जनाको टोली पोखरा आएको थियो । उक्त टोलीले बिहीबार काठमाडौं-११ सँग काठमाडौं दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्नेछन् ।