खेलकुद

कतारमा मेस्सी बसेको एउटा कोठालाई संग्रहालय बनाइने


काठमाडौँ — अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सी बसेको कतार विश्वविद्यालयको एउटा कोठालाई संग्रहालय बनाइने भएको छ । कतारमा भएको फिफा विश्वकप २०२२ का क्रममा मेस्सी बसेको विश्वविद्यालयको कोठा नम्बर बी २०१ लाई सानो संग्रहालयमा परिणत गरिने विश्वविद्यालयको भनाइलाई उद्धृत गर्दै द पेनिन्सुला कतारले लेखेको छ ।

कतार विश्वविद्यालयले अर्जेन्टिनी टिम बसेका कोठाहरुको फोटो सामाजिक सञ्जालमा शेयर गर्दै आएको थियो । त्यही क्रममा मेस्सी बसेको कोठा नम्बर बी २०१ को फोटो शेयर गर्दै त्यसलाई संग्रहालय बनाउने घोषणा गरेको हो । तर त्यो संग्राहलय अहिलेकै अवस्थामा सञ्चालन गर्ने कि क्याम्पस परिसरमा अन्त कतै लिएर राख्ने भन्ने खुलाएको छैन ।

अ‍र्जेन्टिनी फुटबल टोली महँगा पाँच तारे होटलमा नबसेर कतार विश्वविद्यालयका कोठामा बसेको थियो । डेली मेलका अनुसार आफ्नो पारम्पारिक ‘बिफ बारबिक्यु’ एक प्रकारको गोरुको सेकुवा बनाउन सजिलो हुने भएकाले अ‍ेर्जेन्टिनी फुटबल टिम त्यहाँ बसेको थियो ।

विश्वविद्यालयले राखेको एउटा भिडियोमा मेस्सी बसेको कोठामा उनीहरुकै जर्सीको जस्तो सेतो र नीलो रङ्ग लगाइएको छ । यस्तै हलमा विश्वकप विजयी हुँदाका तस्बिरहरु झुण्ड्याइएका छन् । यस्तै जर्सी र खेलाडीहरुका अटोग्राफ लेखिएका छन् । फिफा विश्वकप २०२२ को विजेता अर्जेन्टिना हो । फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना तेस्रोपटक विश्विकप विजेता बनेको हो । एजेन्सी