Breaking

शेखर पक्षका शीर्ष नेताको बैठक जारी : केन्द्रीय समिति उठाउने एजेन्डाबारे छलफल


काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षका शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।

कोइरालाको सम्पर्क कार्यालयमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संसदीय दल निर्वाचनको समीक्षा र आगामी केन्द्रीय समिति बैठकका रणनीतिबारे छलफल भइरहेको एक नेताले जानकारी दिए ।

संसदीय दलको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध कोइराला पक्षबाट कांग्रेस महामन्त्री गगन थापाले प्रतिस्पर्धा गरेका थिए । तर थापा ३९ मत अन्तरले पराजित भए । लगत्तै कांग्रेस नेतृत्वको गठबन्धनबाट माओवादी अलग भएर एमालेसँग मिलेर सरकारको नेतृत्व गरेको छ । गठबन्धन जोगाउन नसकेको भनेर कोइराला, थापा लगायतका नेताहरुले देउवाको आलोचना गर्दै आएका छन् ।

यिनै घटनाक्रमका बीच नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक आगामी २२ गते पार्टी कार्यालय सानेपामा बोलाइएको छ । सो बैठकमा उठाउने एजेन्डाबारे कोइराला पक्षमा आन्तरिक छलफल भइरहेको छ ।

बैठकमा शेखरसहित गगन थापा, धनराज गुरुङ, जीवन परियार, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, चन्द्र भण्डारी, सरिता प्रसाईं, हृदयराम थानी, दीपक गिरीलगायत सहभागी छंन ।