Breaking

देउवा बालुवाटारबाट छाड्ने तयारीमा, भोलि धुम्बाराही सर्ने


काठमाडौँ — निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्ने तयारी अघि बढाएका छन् । देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार धुम्बाराहीमा भाडाको घरमा सर्नेगरी तयारी भइरहेको छ ।

१० पुसमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएसँगै देउवाले भाडाको घर खोजिरहेका थिए । मंगलबार दिउँसो धुम्बाराहीमा एक घर भेटिएको र केही समय सोही भाडाको घरमा देउवा बस्नेछन् ।

बूढानिलकण्ठस्थित देउवाको निजी निवासमा भने भौतिक निर्माणको काम भइरहेको छ । सोही काम सक्नुअघिसम्मका लागि देउवाले भाडाको घर प्रयोग गरेका हुन् । देउवाले घर छाडिसकेपछि बालुवाटारमा सर्ने तयारी रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले बताएको छ ।

प्रधानमन्त्रीमा नियुक्तलगत्तै सरकारी निवास बालुवाटार सर्नपर्ने भएपनि त्यो खाली नहुँदा प्रचण्ड खुमलटारमै भेटघाट बाक्लो बनाएर बसेका छन् ।