Breaking

माधवलाई सरकारमा सहभागी हुन प्रस्ताव, एकहप्ताभित्र भागबण्डा टुंग्याउने


काठमाडौँ — पुष्पकमल दाहाल प्रचण्डको सरकारले पुस २५ गते विश्वासको मत लिने भएको छ । सोमबार शपथ लिएका प्रधानमन्त्री दाहालले सोमबार बेलुकाको मन्त्रीपरिषद् बैठकबाट संसद बैठक आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका थिए ।

सरकारको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले १३ दिनको समय राखेर संसद बैठक आह्वान गरेकी छन् । ४ मंसिरको प्रतिनिधि सभा चुनावबाट नयाँ सरकार बनेपछि पहिलो संसद बैठक पुस २५ गते सोमबार दिउँसो १ बजे बस्नेछ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार २५ गतेकै बैठकमा विश्वासको मत लिने तयारी छ । संविधानको धारा ७७ अनुसार निर्वाचनपछिको सरकारले पहिलोपटक विश्वासको मत लिएपछि २ वर्षसम्म अविश्वास प्रस्ताव राख्न पाइने छैन ।

एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ती पार्टी र ३ स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थन लिएर प्रचण्ड आइतबार संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए । उनले एकमहिनाभित्र संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ ।

ढिलो गर्दा माहोल परिवर्तन हुने, दृश्य फरक हुनसक्ने विश्लेषण प्रधानमन्त्रीको टीमले गरेको छ । प्रचण्डले यो अवधिमा गठबन्धनबीच मन्त्रालय र अन्य शक्तिशाली निकायको भागबण्डा टुंगो लगाउने छन् ।

त्यसका लागि मंगलबार पनि केही नेताहरूसँग उनले छलफल गरे । बुधबार गठबन्धनका शीर्ष नेताको छलफल राखिएको छ । यहि हप्ताभित्र गठबन्धनले मन्त्रालय भागबण्डा सकाउने एमालेका एक नेताले जानकारी दिए । ।

सोमबार शपथ लिएपनि मन्त्रालय टुंगो नलागेका ४ मन्त्रीको बुधबार मन्त्रालय टुंगो लगाउने तयारी भएको मन्त्री राजेन्द्र राइले जानकारी दिए । यसैबीच मंगलबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रवि लामिछानेसँग छलफल गरेका छन् ।

यस्तै पौडेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग उनका सम्धी सोमप्रसाद पाण्डे निवासमा छलफल गरेका छन् । पौडेलले नेपाललाई मिलेर जान र सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् ।