Breaking

विचल्लीमा माधव नेपाल, रुनु कि हाँस्नुको अवस्था, प्रचण्डको धोकाले टाट पल्टिए, ओलीसँग घुँडा टेक्लान् ?


काठमाडौँ — देउवासँगको सहकार्य तोड्दै प्रचण्डले ओलीसँग नयाँ समीकरण बनाएपछि माधव नेपाल अलपत्र परेका छन् । प्रचण्डको सत्ता मोहले माधवको राजनीतिक भविष्य नै संकटमा परेको छ । माधव नेपाल बसेको पार्टी भत्कियो । ओत लिएको रुखमाथि हसिँया हथौडा चल्यो । आफ्नैले मुख मोडे, प्रचण्ड जस्ता साथीले साथ छोडे । ६९ बर्षमा हिडिरहेका नेपालको एकैपटक प्रेसर, सुगर र दम बढीरहेको छ । तर पनि उनी चुपचाप छन् । दुनियाँमा दुख, पीडा र संकट भन्ने केही चिज छ भने त्यो माधव नेपाललाई छ । जाउँ भने कहाँ जाउ ? नजाउ भने के गरुँ ? अगाडी जाँदा भीर छ, पछाडी फर्किदा पीर छ । दखदख हेर्नुस् त, माधव नेपालको यो हालत ?

प्रचण्डले साथ नछोडेको भए, सायद माधव राष्ट्रपतिको तयारीमा हुन्थ्ये । प्रचण्डले प्रधानमन्त्री नपाउने अवस्थामा माधवले राष्ट्रपति पाउने विषयमा गठबन्धनले व्यापक छलफल गरेको थियो । उनको पार्टीका दुईचार जना दौरा सुरुवाल लगाएर सपथ लिइसकेका हुन्थ्ये । कि त राष्ट्रपति, कि सभामुख चाहिन्छ भन्दै माधवले देउवा–प्रचण्डसँग घुर्की लगाइरहेका हुन्थ्ये । तर आड भरोशा मानेको, दीलोज्यान दिएर विश्वास गरेको र उसकै बलमा पार्टी फोडेको साथीले घात गर्दा माधव घर न घाटको भएका छन् ।

तथापी उनी ठूलो मन बनाएर प्रचण्डको सपथ ग्रहणमा सरिक भए । छेउमै अहिलेका ‘किङमेकर’ ओली बसेका थिए । माधव नेपालसँग ओलीले २० महिना लामो मौनता तोड्दै सञ्चोविसञ्चो सोधे । तर माधवलाई त्यो संवादहिनता तोडेको नभइ ‘देखिस् सत्ता कसरी पल्टाएर देखाईदिए’ भनेर टोकेझैँ लाग्यो ।

प्रचण्ड र माधव नेपालबीच एक रथका दुईपांग्रा बन्ने समझदारी बनेको थियो ।गठबन्धन हुँदै पार्टी एकताका लागि समाजवादी केन्द्रसम्मका योजना उनीहरु सुनाउँथे । तर बालुवाटारमा देउवा–प्रचण्डबीच प्रधानमन्त्रीको टक्कर चलिरहेका बेला माधवले आफैलाई पहिलो प्रधानमन्त्री आफैँलाई बनाउन प्रस्ताव गरे । आफ्नो पक्षमा बोलिदिने भन्ने आशमा परेका प्रचण्ड त्यतिनै बेला माधवसँग चिड्डीएका थिए । फलतः प्रचण्डले एक कोल्टे फेर्न नपाउँदै पार्टी एकतादेखि सत्ता सहकार्यसम्म सबै सखाप भएको छ । नयाँ समीकरणमा माधवलाई सामेल बनाउन पनि एमाले इच्छुक देखिएको छैन ।

निष्ठुरी प्रचण्डले २०७७ पुष १० मा ‘हामी यहाँ छौं’ भन्दै माइतीघरको चिसो भुँइमा माधवसँगै पलेटी कसेको विर्सिदै २०७९ पुष १० मै प्रधानमन्त्रीका लागि माधवलाई दोबाटोमा अलपत्र छोडेका छन् ।राजनीतिमा सबै जायज छ भन्ने मान्यताका प्रचण्ड त ओलीसँग मिलिसके, तर माधव अब ओलीसँग गल्ने कि एक्लै चल्ने धर्मसंकटमा परेका छन् ।

उता माधवबाहेकको मोर्चा बनाउने बताउँदै आएका ओली आफ्नो मिशनमा सफल भएका छन् । अब नाम लिँदा पनि मुख कुल्ला गर्छु भन्ने ओली र अहंकारीको चर्काे आरोप लगाएका माधवबीच सहकार्यको सम्भावना कति जायज होला ? विगतका सबै भूलेर ओलीसँग सहकार्यमा सामेल होलान् कि प्रचण्डको सरकारमा नजाने निर्णय नै गरेका माधव काँग्रेसकै सती जालान् ? मुलतः माधवको भविष्य कुहिरोको काग जस्तो बनेको छ ।