विदेश

अमेरिकामा चिसोले ५६ जनाको मृत्यु, जनजीवन प्रभावित


काठमाडौँ— उत्तरी अमेरिकामा बढेको जाडोले ५६ जनाको मृत्यु भएको छ । चिसो सिरेटोसँगै हिमपात हुँदा जनजीवन नराम्रोसँग प्रभावित भएको छ । चिसोका कारण न्यूयोर्कमा मात्रै २८ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । न्यूयोर्कको बफेलो शहर सबैभन्दा बढी प्रभावित भएको छ ।

त्यहाँका गभर्नरले अहिले युद्धको जस्तो स्थिति रहेको बताएका छन् । गभर्नर क्याथे हुचेलले बफेलो शहरका लागि यो इतिहासकै विनाशकारी भएको बताउँदै प्रकृतिले आफूसँग भएका सबै कुराले प्रहार गरिरहेको बताएकी छिन् । सरकारी अधिकारीहरुले अत्यावश्यक नपरी घर बाहिर ननिस्किन सुझाव दिएका छन् । यद्यपि एरी काउन्टीमा १२ जना मानिसहरु घरभित्रै र गाडीभित्रै मृत फेला परेका छन् ।

बीबीसीका अनुसार ओन्टारियो, मोन्टाना, क्युबेक, भर्मन्ट, ओहायो, मिजुरी, विस्कन्सिन, क्यान्सस, कोलोराडो लगायतका क्षेत्रहरु नराम्रोसँग प्रभावित भएका छन् । मोन्टानामा न्युनतम तापक्रम माइनस ४५ डिग्री सेल्सियस मापन भएको छ । हिमपात क्यानडादेखि मेक्सिकोको सिमानासम्म फैलिएको विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएको छ ।

क्यानडाको कोलम्बिया प्रान्तमा बरफ जमेको सडकमा बस चिप्लिएर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । हिउँले सडकहरु अवरुद्ध छन् भने सयौं उडानहरु रद्द गरिएको छ । क्रिसमस चाडको बेला भएको हिमपात र जाडोले मानिसहरुको दैनिकी प्रभावित भएको छ । आफन्तसँगै बसेर चाड मनाउने योजना पनि हवाई र स्थल यातायातका साधन नचल्दा प्रभावित भएको छ भने केही स्थानमा विद्युत आपूर्ति पनि बन्द भएको छ ।

यद्यपि धेरैजसो स्थानमा विद्युत आपूर्ति सुरु भइसकेको समाचार सार्वजनिक भएको छ । सुरुको अवस्थामा १७ लाख मानिसहरु बिजुली विना बस्न बाध्य भए पनि अहिले त्यो संख्या घटेर २ लाखमा झरेको छ ।मौसमविदहरुले हिमपात र चिसो केही दिनमा कम हुने बताएका छन् छन् ।