देश

निर्वाचनसम्म आन्दोलन स्थगित गर्न आग्रह


काठमाडौँ— नेपाल चेम्बर अफ कमर्सले बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरविरुद्धको आन्दोलन आगामी मङ्सिर ४ गतेसम्म स्थगित गर्न आग्रह गरेको छ । जिल्ला चेम्बर अफ कमर्स र नगर चेम्बर अफ कमर्सलगायत सबै जिल्लाका संस्थालाई ब्याजदर वृद्धिविरुद्धको आन्दोलन निर्वाचनसम्मका लागि स्थगित गर्न चेम्बरले आग्रह गरेको हो ।

बैंक तथा वित्तीय संस्थाको व्याजदर एवं राष्ट्र बैंकको चालू पुँजी कर्जासम्बन्धी मार्ग निर्देशनको विरोधमा चेम्बरले गर्दै आएको विरोधका कार्यक्रमलाई निर्वाचन अवधिभर रोक्न चेम्बरले विज्ञप्तिमार्फत आग्रह गरेको हो । चेम्बरले जारी गरेको विज्ञप्तिमा “मुलुक प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा होमिएको छ ।

निर्वाचनलगत्तै आफ्नो शान्तिपूर्ण सङ्र्घषका कार्यक्रमलाई पनि जारी राख्दै नयाँ सरकारसँग वार्तामार्फत समस्याको समाधानका लागि चेम्बरले पहल गर्नेछ । त्यतिञ्जेलसम्मका लागि सङ्घर्षका सबै कार्यक्रम स्थगित गर्न जिल्ला र नगर चेम्बर अफ कमर्सलाई आग्रह गरिने ” भनिएको छ ।

बैंक तथा वित्तीय संस्थाको चरम ब्याजदरबाट उद्योगी व्यवसायी निकै मर्कामा परे पनि निर्वाचनको मुखमा आन्दोलन गर्दा झन समस्या उत्पन्न हुने चेम्बर अध्यक्ष राजेन्द्र मल्लले बताउनुभयो । चेम्बरले यसअघि नियमनकारी निकाय राष्ट्र बैंकसमक्ष हाल कायम स्प्रेड दर एवं बैंकको आधार समय सान्दर्भिक व्यवस्थापन गर्न पनि आग्रह गरेको छ ।

चेम्बरले राष्ट्र बैंकलाई विभिन्न नौ बुँदामा यसअघि नै ध्यानाकर्षण गराएको थियो । कर्जा प्रवाह र नवीकरण गर्दा बैंक एवं वित्तीय संस्थाले लिने विभिन्न प्रकारको असान्दर्भिक सेवा शुल्कलाई हटाउनसमेत चेम्बर चेम्बर अध्यक्ष मल्लले आग्रह गर्नुभयो ।