Breaking

‘लौरो अभियान’ का स्वतन्त्र उम्मेदवारले गरे महेश बस्नेतलाई समर्थन


काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह समूहका स्वतन्त्र उम्मेदवारले आगामी मंसीर ४ गते हुने निर्वाचनमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा भक्तपुर क्षेत्र नं. २ मा प्रतिनिधि सभा तर्फ लौरो चिन्ह लिएर स्वतन्त्र उम्मेदवार लोकेन्द्र पोखरेलले भक्तपुरमा मात्र नभई देशभर एमालेका उम्मेदवारलाई मंसीर ४ गतेको निर्वाचनमा मतदान गर्न लौरो अभियानका अभियन्ताहरुलाई आव्हान गर्नु भएको हो । उहाँले भन्नुभयो, “लौरोले हिर्काउने होइन, राष्ट्र र राष्ट्रियताको सवालमा अडिग रहनेलाई लौरोले त साहारा दिनु पर्छ, त्यस्तो व्यक्तित्व महेश बस्नेत हो, उहाँको बिकल्प छैन भन्ने निष्कर्षमा पुगेर एमाले र लौरो अभियन्ताबीच एकता भएको हो ।”

पत्रकार सम्मेलनमा नेकपा एमालेका पोलिटव्यूरो सदस्य, पूर्व सांसद एवं भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभाका उम्मेदवार महेश बस्नेतलाई लौरो उपहार दिदैँ उहाँले आजकै दिनबाट आफ्नो उम्मेदवारी फिर्ता लिई आफूसहित लौरो अभियानका स्वतन्त्र अभियन्ताहरुले भक्तपुरमा एमालेका उम्मेदवार बस्नेतलाई अत्याधिक मतले विजयी बनाउने अभियानमा एकजुट भएर लाग्ने बताउनु भयो ।

कार्यक्रममा लौरो ग्रहण गर्दै प्रतिनिधि सभातर्फ एमालेका उम्मेदवार महेश बस्नेतले आजबाट लौरोका अभियन्ता मात्र नभई तमाम स्वतन्त्र अभियन्ताहरुसँगको सहयात्रा सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “टाढाबाट हेरेर र सुनेर होइन, महेश बस्नेतलाई चिन्न र यहाँको विकास हेर्न यहीँ आउनुपर्छ, भन्ने यथार्थ बुझेर आज लौरोले समर्थन गरेको छ, राष्ट्रियताको पक्ष, निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्यको व्यबस्था गर्ने लगायतका राष्ट्रहितका एजेण्डा बोकेका सबै एक भएर राष्ट्रहित विपरितको गठबन्धनलाई परास्त गर्नु आजको आवश्यकता हो ।”

राष्ट्रियताको पक्ष, एमसीसी, एसएसपी, नागरिकता विधेयकको विक्षमा, निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगारीको व्यबस्थाको सवालमा एमालेसँगै लक्ष्य र अभियान मिलेका सबै समूह एक हुनुपर्नेमा जोड दिनुभयो ।

एमाले नेता एवं उम्मेदवार बस्नेतले विपक्षीले कुनै विषय नपाए पछि तर्कहिन कुरालाई आधार बनाएर आरोप लगाएको सन्दर्भ कोट्याउदै भन्नुभयो, “हत्या, अपहरण, चन्दा असुली, लुटपात, कुटपिट, धम्की जस्ता अराजकताको बिरुद्ध मैले युथ फोर्स गठन गर्दा विपक्षीले गुण्डा भने, सुरेन्द्र यादवसहितको नेताहरु एमाले प्रवेश गर्ने कार्यमा सहजीकरण गरिदिदाँ अपहरणको आरोप लगाए, गाईको दूध दुहुने क्रममा अलिअलि गोबर लाग्छ, कहिलेकाँही लात्ति हान्छ, यस्ता आरोप आफै मिथ्या सावित भएर गइरहेका छन् ।”

मधेश र पहाडबीचको सम्बन्ध भत्काउने, जनजाती र बाहुन क्षत्रीबीचको एकता विभाजन गरेर देशलाई सधै अस्थिरतामा धकेलेर स्वार्थ पुरा गर्न खोज्नेको त्यस्ता कदमलाई असफल बनाउन सफल भएको उहाँको भनाइ थियो ।

मंसीर ४ को निर्वाचनमा आफू विजय भएपछि संघीय सरकारबाट आफूले ल्याउने बजेट, प्रदेश र स्थानीय सरकारबाट आउने बजेटबाट भक्तपुरको बिकास देशकै नमूनाम योग्न बनाउने बताउदै बस्नेतले भन्नुभयो, “म अहिले १० मिटर बाटोको दौडमा छैन, म त कयौ माइल लामो सडकको यात्रा तय गर्दै दौडिरहेको छु ।”

माओवादी केन्द्र कि एमालेको, कि त काँग्रेसको फेरो नसमाति अगाडि बढ्नै नसक्ने अबस्थामा पुगेको भन्दै गठबन्धनको सरकारको अनुभूति पछिल्लो समयले बताई सकेको चर्चा गर्नु भयो ।

सकारात्मक अभियान चलाई रहदाँ नकारात्मक हल्ला चलाउनेहरु आफै परास्त हुने बताउदै उहाँले भन्नुभयो, “म कहाँ समस्या लिएर आउनेहरुलाई नाम साध्छु, ठेगाना सोध्छु तर कहिले कुन पार्टीको हो, भनेर कहिले सोधिन्, मेरा लागि सबै समान हुन्, जे अपेक्षा लिएर म कहाँ आउनेहरुलाई समस्या समाधानमा सक्दो सहयोग गरेकै छु ।”

पत्रकार सम्मेलनमा हस्ताक्षर पत्रमा एमाले नेता बस्नेत र स्वतन्त्रका लौरो चिन्हका उम्मेदवार पोखरेलले हस्ताक्षर गरि सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा पोखरेलले नाकाबन्दीको सामना गर्ने, चुच्चे नक्सा ल्याउने, भारतसँग आँखामा आखा जुभाउने, राष्ट्र र राष्ट्रियताको सवालमा कोहीसँग नझुकी सधै पक्षमा उभिने पार्टी एमाले र त्यसको नेतृत्व गर्ने नेता केपी ओली मात्र हुन भन्ने ठहर गर्दै एमालेमय महासागरमा मिल्न आएको बताउनु भयो ।

राष्ट्रवादी र देशभक्ती शक्ति छुट्टा छुट्टै लाग्दा अभियान सफल हुन नसक्ने ठहर गर्दै यस्तो शक्ति अब एक हुनु पर्छ, बेग्ला बेग्लै होइन, एउटै नेतृत्वमा एकताबद्ध भएर अगाडि बढ्नु पर्छ भनेर एमालेमा आएको भन्दै उहाँले यहीँ अभियान लिएर अगाडि बढेका स्वतन्त्र समूह एवं अभियन्ता एमालेसंग हातेमालो गर्दै एकताबद्ध भएर जान आव्हान गर्नु भयो ।

अब नेपाल बनाउने नेता भक्तपुरबाट महेश बस्नेत मात्रै हुन्, उहाँको अभियान र हाम्रो अभियान एउटै हो भनेर भक्तपुरमा निःशुल्क शिक्षा र निःशुल्क उपचार गर्ने अस्पताल स्थापना गर्ने सहमतिमा एक भएको बताउनु भयो ।

“एमसीसीको पक्षधर, एसएस्पीको पक्षधर नागरिकता विधेयकको पक्षधरलाई मतदान गर्दा तपाईहरुको हात काप्दैन, मन दुख्दैन ?” भन्दै उहाँले गठबन्धन भित्रै अस्थिरताको जड प्रचण्ड रहेकाले लौरो अभियन्ताहरुले अहिलेको सत्यवादी एमालेसँग एकताबद्ध भएर आएको बताउनु भयो ।