Breaking

गगनको प्रधानमन्त्री बन्ने यस्तो तयारी, देउवा–प्रचण्डलाई भारी, गठबन्धनबाट को बन्ला प्रधानमन्त्री ?


काठमाडौँ — आगामी मंसिर ४ को निर्वाचनपछि देशले नयाँ नेतृत्व पाउनेछ । प्रमुख विपक्षी दल एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई उम्मेदवार बनाएको छ । तर सत्ता गठबन्धन अझै अन्योलनमा छ । मंसिर ४ को निर्वाचनपछि अबको प्रधानमन्त्री को ? नेकपा एमाले भन्छ, ‘हाम्रै अध्यक्ष केपी शर्मा ओली ।’ तर गठबन्धन अझै गञ्जागोलमा छ ।देउवादेखि प्रचण्डसम्म, गगनदेखि प्रकाशमानसम्म र १७ पटकसम्म प्रयास गरेपनि असफल रहेका रामचन्द्र पौडेलसम्म प्रधानमन्त्रीकै रेसमा छन् ।

त्यसमध्ये मुख्य सम्भावना प्रधानमन्त्री शेरबहादुर देउवाकै छ ।तर गठबन्धनलाई मिलाएर जानुपर्ने बाध्यतामा रहेका देउवाले मुखफोरी बोल्न सकिरहेका छैनन् । बरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घुमाएरै भएपनि पटकपटक बोलेका छन् ।

एकपटक देशको नेतृत्व गर्ने चाहना रहेको भन्दै प्रचण्डले देउवामाथि दबाव बढाउनथालेको निकै भयो । तर अहिले नै मुखफोरी बोल्दा काँग्रेसको मत नपाइने भयबाट ग्रसित प्रचण्ड सम्भावना देख्छन् तर सम्झौता गर्न सकिरहेका छैनन् । यता यही निर्वाचनबाट प्रधानमन्त्री बन्ने एजेन्डासहित काँग्रेस महामन्त्री गगन थापा चुनावमा होमिएका छन् । गगनको यो दाबी पार्टी सभापति देउवालाई त यसै भारी परेको छ । गठबन्धनमै रहेकाले प्रचण्डमाथिसमेत प्रकोप बन्ने देखिन्छ ।

गगन प्रधानमन्त्री बन्नका लागि पहिले पार्टीमा सहमति हुनुपर्छ । काँग्रेसबाट प्रतिनिधिसभामा निर्वाचित सांसद संख्याको बहुमतले संसदीय दलको नेता पनि चुन्नपर्छ । त्यसपछिमात्रै उनलाई प्रधानमन्त्री बन्ने बाटो खुल्नेछ ।तर सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालेछैंटौंपटक पनि आफै प्रधानमन्त्री बन्ने गरि आफ्नै पक्षका बहुमत उम्मेदवार खडा गरेका छन् ।

जसले उनलाई संसद दलको नेता बन्न भूमिका खेल्नेछन् भने गगनलाई मत दिने सम्भावना निकै न्यून हुनेछ । तैपनि उनी रुपान्तरण र पुस्तान्तरणको पक्षमा उभिएका ६० प्रतिशत बढीलेपार्टीबाट टिकट पाएको दाबी गर्दै आफैलाई समर्थन विश्वास जनाइरहेका छन् । यद्यपी देउवा फेरि प्रधानमन्त्री भन्दै भोट मागिरहेका छन् ।

काँग्रेसबाट देउवा र गगनमध्ये एकले दाबी छोडे फेरि प्रचण्ड पनि प्रधानमन्त्रीकै लागि अघि आउनेछन् । त्यसका लागि भए काँग्रेससँगै सहमति नभए समीकरण फेरदबलको अभ्यास चाल्ने अनुमान असत्य होइन । प्रचण्डले समिकरण तोड्दै एमाले वा अन्य दलसँग तालमेल गरे फेरि काँग्रेस प्रतिपक्षमा जानेसक्छ ।जुन देउवाले चाहेकै छैनन् । बरु आधा आधा सहमतिमै भएपनि प्रचण्ड–देउवाले सरकारको नेतृत्व गर्ने नेताहरु बताउँछन् ।

हुनत् साझा उम्मेदवारसहित चुनावमा होमिएको गठबन्धनले भावी प्रधानमन्त्रीसमेत देखाएर जनताको बीचमा जानुपर्ने हो । तर सबै दलले प्रधानमन्त्रीबारे छलफल र सहमति नभएको भन्दै प्रश्न पन्छाइरहेका छन् । केहीदिनअघिमात्रै काँग्रेस प्रवक्ता प्रकाशशरण महतले देउवा नै प्रधानमन्त्री हुने दाबी गरेका थिए ।

तर दुईदिनपछि बोली फेर्दै सहमति नभएको बताए । मंगलबार सल्यानमा बोलेका प्रचण्डलेसमेत प्रधानमन्त्रीबारे निर्णय नभएको बताएका छन् । मुख्यतः चुनावअघि नै घोषणा गर्दा नेता÷कार्यकर्ता प्रभावित हुनसक्ने डरकै कारण गठबन्धन भावी प्रधानमन्त्रीबारे बोल्न सकिरहेको छैन ।