Breaking

भोट माग्दा झापड ! जनता जाग्न थाले, विरोधमाथि कुटपिट–प्रचण्डलाई जुत्ताको माला, भोट माग्नेलाई प्रश्न


काठमाडौँ — ५५ बर्षिय एक पुरुषलेनेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई चट्कन हाने । भोट माग्न स्थानीयको बीचमा गएका उनीमाथि भिडकै बीचमा कुटपिट भएको छ । जनताकोझापड खाने विरोधमात्रै एक्ला होइनन्, यसअघि पनि शिर्ष राजनीतिक नेतृत्वले सार्वजनिक स्थलमै जनताबाट दुरव्यवहार ब्यहोरेको छ । जुन नेतृत्वप्रति पलाउँदै गएको वितृष्णा हो । मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको साझा उम्मेदवार बनेका विरोध खतिवडामाथि मंगलबार सभास्थलमै कुटपिट भयो ।

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी सदस्यसमेत रहेका उनी चुनावी सभालाई सम्बोधन गर्नका लागि मनहरि गाउँपालिका–४ मसिनेमा गएका थिए । सभास्थलमा खतिवडा गाडीबाट ओर्लिने वित्तिकै अन्दाजी५५ बर्षिय पुरुषोत्तम खड्काले चट्कन हानेका हुन् ।खड्काले खतिवडामाथि प्रहार गरेपछि प्रहरीले प्रकाउ गरेको छ । अनुसन्धानका क्रममा खड्काले मादकपदार्थ सेवन गरेको र पुरानो रिसिबीसमेत साँधेको प्रहरीले जनाएको छ ।

मंगलबार नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि सुर्खेतमा जुत्ताको माला लगाउने प्रयास भएको थियो ।चिङगाड गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गरिरहेका प्रचण्डमाथि एक युवाले झोलामा लुकाएर ल्याएको जुत्ताको माला लगाउन खोज्दा प्रहरीले पक्राउ गरेको थियो ।उद्दपी प्रचण्डको सचिवालयले यो समाचारको खण्डन गरेको छ । यसअघि पनि उनीमाथि एकपटक झापड र अर्काेपटक जुत्ता हानिएको थियो । २०५१ सालमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि संसदमै जुत्ता प्रहार भएको थियो ।

एमालेको तर्फबाट तत्कालिन राष्ट्रिय सभा सदस्य रहेका गोल्छे सार्कीले पौडेलमाथि जुत्ता हानेका थिए ।झलनाथ खनाल र बाबुराम भट्टराईले पनि यस्तै प्रहार सहेका छन् । माओवादी केन्द्रका नेता झक्कु सुवेदीलाई त तीनकुनेमा चिया पसल चलाएका प्रेमराज देवकोटाले पहिले चिया पकाएर खुवाइसकेपछि संविधान कहिले बनाउँछौं भन्दै दुई झापड हानेका थिए । काँग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई एक महिलाले चप्पलले हिर्काएकी थिइन् । काँग्रेसकै नेता रामशरण महतलाई सार्वजनिक रुपमै भाषण गर्दा बोतलले हानिएको थियो । मुलत यो नेताहरुप्रतिको आक्रोश नै हो ।

यस्तो आक्रामक जनताको शैली बर्षाैसम्म पनि फेरिएको छैन । किनकि नेताको शैली पनि फेरिएको छैन । असन्तुष्टि पोख्ने माध्यम जनताले झापड र कुटपिटलाई बनाइरहेका छन् । त्यसबाहेक नरमशैलीमा कडा प्रश्न सोध्ने जनताको जागरुकतासमेत बढेको छ । किनकि शिर्ष नेतृत्वलाई प्रश्न सोध्ने हैसियत जनताले राख्न थालेका छन्। हिजोजस्तो मासुभातमै बिक्ने जनताको चेतनास्तर विस्तारै हराउँदै गएको छ ।

अहिले घरदैलोमा रहेका नेताहरुलाई मुखभरीको प्रश्न खुवाएर जनताले स्वागत गर्दा भोट माग्न गएकाहरुमा पनि ङिच्च हास्नुभन्दा अर्काे विकल्प देखिएको छैन । यस्तै स्वागत ललितपुर १ का गठबन्धनका उम्मेदवार उदयशमशेर राणालाई पनि एक मतदाताले गरेकी छिन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनावी सभा सम्बोधनकै क्रममा आफ्नै कार्यकताले ठाडो प्रश्न सोधेका छन् । चुनावमा भीम रावललाई टिकट नदिएको र कार्यक्रममा समेत नबोलाएको भन्दै कञ्चनपुरमा कार्यकर्ताले खोजी गर्दा ओली हकार्न तम्सिएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा स्वतन्त्र उम्मेदवार सागर ढकाललाई चुनावी प्रचारमा निषेध गर्न खोजेपछि समर्थकले देउवालाई लाग्ने कानुन र ढकाललाई लाग्ने कानुन एउटै होइन भन्दै प्रश्न गरेका थिए ।

अहिले काठमाडौंसहित देशका विभिन्न स्थानमा उम्मेदवारहरु प्रश्नको घेरामा छन् । मतदाताले खाल्डाखुल्डीको बाटो आउनु भयो होला । धारामा पानी छैन तिर्खा लाग्यो होला । टाढाबाट बोकेर ल्याएको पानी खानुहुन्छ ? भन्दै प्रश्नसहितको व्यङग गरिरहेका छन् । तपाईँको घरमा हात जोड्दै आएको नेतालाई आफ्नो प्रश्न राख्ने हिम्मत गर्नुस् ।

तपाईको भुगोल अनुसारको, ठाउँ अनुसार र आवश्यकक्ता अनुसार प्रश्न गर्नुहोस् । जवाफ खोज्नुस् । सके उनीहरु उत्तर दिन्छन् र समाधान निकाल्छन् । नसके आफैलाई नालायक सम्झिएर अर्काेपटक मुख देखाउन लायक पनि रहदैनन् । त्यसैले एक भोट एक प्रश्न सोध्न आवश्यक छ ।