Breaking

सुदूरपश्चिमको विकास प्राथमिकतामा रहेको छ: देउवा


काठमाडौँ — प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको विकास प्राथमिकतामा रहेको बताउनुभएको छ । आज बुधवार संयुक्त लोकतान्त्रिक–वाम गठबन्धनले पाटनमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सुदूरपश्चिमको विकासका लागि यहाँका ठूला आयोजना प्राथमिकतामा रहेको बताउनुभयो ।

पश्चिम सेती, पञ्चेश्वर आयोजना, झुलाघाटमा मोटरेबल पुल, मध्यपहाडी लोकमार्ग, पाटन नमुना सहर निर्माणका काम सम्पन्न भएमा यहाँको विकास र रोजगारीमा टेवा पुग्ने प्रधानमन्त्री देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘झुलाघाटमा मोटरेबल पुल आवश्यक छ, त्यो विषयमा भारतीय प्रधानमन्त्रीसँग कुरा गर्छु, त्यो पुल बनाएरै छाड्छु । पश्चिम सेती परियोजना अघि बढेको छ ।

पश्चिम सेती बन्यो भने सुदूरपश्चिमको विकासमा टेवा पुग्छ ।’उहाँले देशको आवश्यकताका आधारमा गठबन्धन गरिएको जिकिर गर्दै गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गर्नुभयो ।