खेलकुद

मानेले विश्वकप गुमाउने


काठमाडौँ — सेनेगल तथा बायर्न म्युनिखका फरवार्ड साडियो मानेले यही नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप गुमाउने सम्भावना बढेको छ । जर्मन बुण्डेसलिगा अन्तर्गत मंगलबार राती वेडर ब्रेमेनविरुद्धको खेलमा चोट लागेका लागेपछि मानेले विश्वकप गुमाउने भएका हुन् । उनको खुट्टामा चोट लागेपछि २० मिनेटपछि नै मैदान बाहिरिएका थिए । बायर्नले ६-२ ले जितेको खेलमा मानेलाई लरेय सानेले प्रतिस्थापन गरेका थिए ।

ला इक्विपेले मानेको खुट्टाको टेन्डममा चोट लागेको र उनी विश्वकपसम्म फिट नहुने जनाएको छ । सेनेगलका प्रशिक्षक अलीउ सिसेले शुक्रबार विश्वकपका लागि टोली घोषणा गर्ने कार्यक्रम छ जसमा मानेको नाम नपर्ने सम्भावना धेरै छ । मानेको चोट सेनेगलका लागि ठूलो झड्का हुन सक्छ । बायर्न र सेनेगल दुवैले मानेले विश्वकप गुमाउने बारे आधिकारिक जानकारी भने सार्वजनिक गरिसकेका छैनन् । मानेले सेनेगलका लागि ९२ खेल खेल्दै ३३ गोल गरेका छन् ।