देश

विप्लवका कार्यकर्ता पक्राउ


काठमाडौँ— मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेत्रविक्रम चन्द विप्लव ‘सि’ नेतृत्वको नेकपाका चार जना कार्यकर्ता पक्राउ परेका छन् ।

म्याग्दीको बेनी नगरपालिकास्थित जीपपार्कमा निर्वाचन विरोधी भित्तेलेखन गरिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।

निर्वाचन बहिष्कारको अपिल गर्दै भित्तेलेखन गर्ने क्रममा नेकपा युवा संगठनका जिल्ला अध्यक्षसहित चार जनालाई बेनी बजारबाट पक्राउ गरिएको प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए ।

उक्त पार्टी निकट युवा संगठनका जिल्ला अध्यक्ष नवीन सि, उषा मगर, रोहित सि र विशाल सन्यासीलाई पक्राउ गरिएको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीम राखिएको बताइएको छ ।

विप्लवसहित तीन वटा कम्युनिष्ट पार्टीले निर्वाचन बहिष्कारको घोषणा गर्दै यसअघि नै संर्घषका कार्यक्रमहरु सार्वजनिक गरिसकेका छन् ।

त्यसयता निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा विप्लव नेतृत्वको नेकपासहितका नेता कार्यकर्ताहरु पक्राउ पर्न थालेका हुन् ।