Breaking

राप्रपाले २५ गते बसन्तपुरमा चुनावी सभा गर्ने


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँको बसन्तपुरमा उपत्यका स्तरीय चुनावी सभा गर्ने भएको छ । आगामी २५ गते हुने उक्त सभालाई अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टीका वरिष्ठ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

आमसभामा उपत्यकाका तीन जिल्लाका १५ प्रतिनिधि सभाका र ३० प्रदेश सभाका उमेदवारहरुले मतदानका लागि सामुहिक अपिल गर्ने कार्यक्रम रहेको राप्रपाले जनाएको छ ।

देशका १४२ प्रतिनिधिसभा र २८६ प्रदेश सभा क्षेत्रमा उमेदवारी दिएको राप्रपा सबैभन्दा बढी उमेदवार उठाउने एमाले पछिको दोस्रो दल हो । राप्रपाले यसअघि गोरखाको पालुङटार, नवलपुरको डण्डा, नवलपरासीको सुनवल र पाल्ही नन्दनमा चुनावी सभा गरिसकेको छ ।

राप्रपाले कार्तिक २४ गते एकैदिन ६ वटा सभा आयोजना गरेको छ । अध्यक्ष लिङ्देन र पूर्व अध्यक्ष पशुपतिशमशेर जबराले सिन्धुपाल्चोक, सिन्धुली, सिराहा, मकवानपुर, उदयपुर र सुनसरीको धरानमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।