Breaking

कामको पर्खाइमा भोकै श्रमिक


काठमाडौँ – दैनिक ज्याला मजदुरी गर्न मोफसलका गाउँबाट विपन्न वर्गका श्रमिक प्रदेश नं १ को राजधानी विराटनगर आउने गरेका छन् । तर दिनैभरि कुरे पनि काम नपाइएपछि भोकै घर फकर्नुपर्ने श्रमिकको बाध्यता छ ।

कटहरी, जहदा, देवानगन्ज, भुटाहा, डाइनिया, छिटाहालगायतका गाउँबाट विशेषगरी घर निर्माणको काम गर्न भन्दै विराटनगरको भूमि प्रशासन चोक, पञ्चमुखी हनुमान चोक, घाँस चोक, भट्टा चोकमा सयौँको सङ्ख्यामा श्रमिक बिहानैदेखि भेला हुने गर्छन् । बिहानको ८ बजेसम्म काममा लागिसक्नु पर्ने भएकाले श्रमिकलाई एकाबिहानै घरबाट निस्किसक्नुपर्ने बाध्यता छ । झिसमिसे उज्यालोमा नै बहुसङ्ख्यक श्रमिक नास्तासमेत नगरी घरबाट विराटनगर हिँड्छन् ।

काम पाएको दिनमा मात्र विपन्न वर्गका श्रमिकको घरमा चुल्हो बल्ने गरेको छ । काम नपाएको दिन भोकै घर फर्कनुपर्ने श्रमिकलाई बाध्यता छ । घरको निर्माणको काम लिने ठेकेदारले विराटनगरका विभिन्न स्थानबाट यस्ता श्रमिकलाई काममा लिएर जाने गरेका छन् ।

तर हिजोआज काम भेटिन छाडेको छ । चाडबाड र आउनै लागेको निर्वाचनका कारण घर निर्माणको कार्य सुस्त बन्दै गएको श्रमिकको ठम्याइ छ । बिहान भोकै विराटनगर आइपुग्नु र फेरि निराश भएर भोकै गाउँतर्फ नै पाइला चाल्नुबाहेकको कुनै विकल्प श्रमिकले देखेका छैनन् ।

जहदा गाउँपालिका–३ का शिवानन्द राजवंशी ज्यामी काम गर्न शनिबार बिहानै विराटनगर आए पनि काम भेटिएन । बिहानको १० बजेसम्म कुर्दा पनि काम दिन कोही पनि आएन । राजवंशीले विगत डेढ महिनादेखि कैयौँ पटक यसरी भोकै फर्कनुपरेको बताए ।

धनपालथान गाउँपालिका-१ का कृष्णकुमार रामले विराटनगरमा काम भेटे दिउँसो खाने गरेको नत्र भोकै घर फर्कने गरेको बताए । काम नपाउँदा समस्या बढेको रामको भनाइ छ। उनले किस्ता तिर्न धौ-धौ परेको, चामल सकिएको र घरका बालबालिकालाई समेत खुवाउन मुस्किल परेको बताए ।

बर्जु गाउँपालिका–५ का सद्दाम हुसैन डकर्मी काम गर्न शनिबार आएका थिए। हुसैनले काम नभेटेको तीन महिना भयो। उनले घर चलाउन मुस्किल भएपछि छरछिमेकबाट सापटी लिँदै जेनतेन जीवन धानिरहेका छन् । बर्जु गाउँपालिका–५ का शम्भु यादवले ठेकेदार पनि कामविहीन हुँदा आफूहरूलाई समस्या भएको बताए। उनका अनुसार तीन महिनादेखि विराटनगरमा घर निर्माणको काममा कमी आएको छ ।

स्थानीय सरकारले दैनिक ज्यालामा काम गर्ने श्रमिकको समस्या सम्बोधन गर्ने विषयमा कुनै चासो नलिएको हुँदा आफूहरू भोकभोकै बस्नु पर्ने अवस्था आइलागेको यादवको गुनासो छ ।