Breaking

डोटीमा एकै रात ३ भूकम्प, गोरखा भूकम्पपछिको शक्तिशाली


काठमाडौँ – गएराति डोटीको खप्तड क्षेत्रलाई केन्द्रबिन्दु बनाएर तीन पटक भूकम्प गएका छन् । यी भूकम्पमध्ये बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युडको भूकम्पले सुदूरपश्चिममा मानवीय क्षति पनि भएको छ ।

डोटीको पूर्वी चौकी बजारमा कम्तीमा ६ जनाको ज्यान गएको खबर आएको छ । २०७२ वैशाख १२ को गोरखा भूकम्पयता पहिलो पटक सुदूरपश्चिममा मानवीय क्षति हुने गरी ठूलो धक्का महसुस भएको हो । यसले कयौँ घरसहितका भौतिक पूर्वाधार क्षतिग्रस्त भएका छन् ।

भूकम्पमध्ये खप्तडलाई केन्द्रबिन्दु बनाएर मंगलबार राति ९ बजेर ७ मिनेटमा खप्तड क्षेत्रलाई नै केन्द्रबिन्दु बनाएर ५.७ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो ।

यो भूकम्पको धक्काले घर र अन्य भौतिक पूर्वाधार हल्लिए पनि कुनै क्षति भएको थिएन । त्यसपछि अर्को भूकम्पको धक्का मंगलबार राति नै ९ बजेर ५६ मिनेटमा महसुस भयो । ४.१ म्याग्निच्युडको यसले पनि मानिसहरुलाई आतंकित बनायो । तर कुनै मानवीय र भौतिक क्षति भएन ।

तर यी दुई धक्कापछि मानिसहरु सुतिसकेको समयमा बुधबार बिहान सबेरै गोरखा भूकम्पयताकै ठूलो ६.६ म्याग्निच्युडको धक्का महुसस भयो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो भूकम्पको केन्द्रबिन्दु पनि खप्तड नै थियो ।

यस भूकम्पका कारण सुदूरपश्चिम र कर्णाली प्रदेश तथा अन्य छिमेकी भूगोलमा पनि कडा धक्का महुसस भयो । अघिल्ला दुईवटाले कुनै भौतिक तथा मानवीय क्षति भएको थिएन । तर यसले डोटीको पूर्वीचौकी गाउँपालिका–३ टाढा गाउँमा घर भत्किँदा एकै परिवारका तीन जनासहित ६ जनाको ज्यान गएको छ ।

यस भूकम्पका कारण मस्त निद्रामा रहेका मानिसहरुबीच खुला ठाउँ र सडकमा भागाभागको अवस्था ल्याइदियो । काठमाडौँसहित पू्र्वी नेपालमा २०७२ को गोरखा भूकम्पले ठूलो क्षति गरेको थियो ।

त्यसबेलादेखि नै सुदूरपश्चिम पहाड भूकम्पको उच्च जोखिममा रहेको विज्ञहरुले बताएका थिए । त्यसक्षेत्रमा लामो समयदेखि भूकम्प नगएका कारण जोखिम आँकलन गरिएको थियो । सुदूर र मध्यपश्चिम पहाडमा यसअघि साना धक्का महसुस भइरहन्थे । तर यति शक्तिशाली धक्का गोरखा भूकम्पयताकै पहिलो हो । जसले मानवीयसँगै ठूलो भौतिक क्षति पनि गराएको छ ।