काठमाडौँ— मंसिर चारमा हुने चुनावको जोड घटाउ चलि रहँदा प्रतिनिधिसभा तर्फ १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौं थप चर्चामा छ । चर्चित उम्मेदवारहरुको चुनावी भिडन्तका कारण चर्चामा रहेकामध्ये एक हो काठमाडौ क्षेत्र नम्बर आठ । सत्ता गठबन्धन, स्वतन्त्र र प्रमुख प्रतिपक्षबीचको त्रीपक्षीय प्रतिस्पर्धाले यो क्षेत्रमा सिंगो देशको नजर परिरहेको छ ।
नागार्जुन नगरपालिकाको वडा नम्बर ४ र ५ सहित काठमाडौं महानगरपालिकाको विभिन्न ६ वटा वडा मिलेर बनेको काठमाडौ क्षेत्र नम्बर ८ दल र उम्मेदवारहरुको चुनाव प्रचारले भन्दा उम्मेदवार बनेका चर्चित अनुहारका कारण थप चर्चामा छ ।सत्ता गठबन्धनबाट २०७४ को निर्वाचनमा बाम गठबन्धन गरेर यहि क्षेत्रबाट सांसद बनेका काठमाडौका एक मात्र मन्त्री जीवन श्रेष्ठ चुनावी मैदानमा छन ।नेकपा एमालेले नेतृ अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिन नचाहेपछि चर्चामा आएको यो निर्वाचन ६ महिना अघि नै उम्मेदवारी घोषणा गरेर चुनावी अभियानमा सक्रिय सामाजिक अभियन्त सुमन सायमीको निर्वाचन क्षेत्र भएका कारण पनि चर्चामा छ ।
नेपाली कांग्रेसका स्वर्गिय नेता नविन्द्र राज जोशिको क्षेत्र काठमाडौ आठमा अझै पनि कांग्रेस पहिलो शक्ति हो । यहाँ जोशिका धर्मपत्निलाई उम्मेदवार बनाउने चर्चा समेत थियो । तर गठबन्धनका कारण कांग्रेसको उम्मेदवारी प्रदेशमा चित्त बुझाएपछि यहाँ कम्युनिष्ट कम्युनिष्टबीच भिडन्त हुँदैछ । २०७४ को निर्वाचनमा बाम गठबन्धन गरेर चुनाव जितेका कम्युनिष्ट यो चुनावमा एक–अर्काको प्रतिस्पर्धि भएका छन । गठबन्धनबाट एकिकृत समाजवादीका नेता जीवन राम श्रेष्ठ र एमालेका शिवसुन्दर राजवैद्य यो क्षत्रमा प्रतिस्पर्धामा छन । श्रेष्ठलाई गठबन्धनको आश छ भने राजबैद्य नेतृ अष्टलक्ष्मी शाक्यको भर र समाजवादीको कमजोर संगठनका कारण एमाले जित्नेमा विश्वस्त छन । यता श्रेष्ठ भने नागरिकले आफ्नो कामको मुल्याङ्कन गर्ने र जित दिलाउने आशामा छन ।
कम्युनिष्ट एक भएर जित हासिल गरेको क्षेत्रमा यो पटक कम्युनिष्टलाई चुनौती दिने गरी वैकिल्पक शतिm पनि चुनावी प्रतिस्पर्धामा छन । स्वतन्त्र,साना दलका उम्मेदवार दलका उम्मेदवारका लागि चुनौतीको रुपमा खडा भएको छ ।
आसन्न निर्वाचनमा प्रमुख राजनीतिक दलहरु गठबन्धनमा रहेका र वैकिल्पकहरु पनि आफै भित्र टुटफुटको अवस्थामा रहेका बेला ,च्याउसरी दैनिक भोट माग्न आउने उम्मेदवारहरुकाबीच यहाँका मतदाताहरुले कस्तो जनप्रतिनिधि खोजिरहेका छन त । अबको १२ दिनमा संसदीय निर्वाचन हुँदैछ । उम्मेदवारहरु आलोपाले गर्दै मतदाताको घर घर पुगिरहेका छन । चुनाव प्रचार प्रचारको अवधि अझै बाँकी नै छ ।
अर्कोतर्फ काठमाडौको हकमा मतपरिणाम कस्तो हुन्छ ठकुवा गर्न सक्ने अवस्था समेत छैन । यस्तो अवस्थामा काठमाडौ आठमा आसन्न निर्वाचनमा बाजी कसले मार्छ यसै अनुमान गर्न कठिन छ । स्वतन्त्र र प्रमुख दलका उम्मेदवारबीचको चुनावी प्रतिस्पर्धा भने रोचक हुने प्रष्ट छ ।


प्रतिक्रिया