काठमाडौँ— पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले गत हप्ता आक्रमणपछि उनको दाहिने खुट्टामा तीनवटा गोली निकालिएको बताएका छन् ।
खानलाई अघिल्लो बिहीबार गोली हानिएको थियो । बन्दुकधारीको हत्या प्रयासबाट बचेका भए पनि खानको खुट्टामा गोली लागेर घाइते भएका थिए । सीएनएनसँगको कुराकानीमा खानले उनको दाहिने खुट्टाबाट तीनवटा गोली निकालेको र बायाँ खुट्टाबाट गोलीका छर्राका टुक्रा निकालिएको बताए ।
आक्रमणपछि खानको खुट्टामा प्लास्टर गरिएको छ र उनलाई चिकित्सकले चारदेखि छ हप्ता आराम गर्न भनेका छन् । आफूलाई गुप्तचर निकायभित्रका विश्वस्त व्यक्तले आक्रमण हुनसक्ने चेतावनी दिएको बताए । बिहीबारको खानको हत्याप्रयासमा गरिएको गोलीबारीमा एक व्यक्तिको मृत्यु भएको थियो भने केही घाइते भएका थिए ।
खुट्टामा गोली लागेका खानलाई तत्काल उपचारको लागि लाहोरको अस्पताल लगिएको थियो । शुक्रबार अस्पतालबाट भिडियो सन्देश जारी गर्दै उनले बिना प्रमाण ‘प्रधानमन्त्री शेबाज शरीफ, गृह मन्त्री राणा सनोल्लाह र मेजर जनरल फैसलको योजनामा आफूमाथि आक्रमण भएको आरोप लगाएका थिए ।


प्रतिक्रिया