देश

विपक्षीलाई सहयोग गरेको आरोपमा ऊर्जामन्त्री बर्खास्त


काठमाडौँ— गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जा स्रोत मन्त्री हरिशरण आचार्यलाई बर्खास्त गर्ने भएका छन् ।

सत्ता गठबन्धनको साटो विपक्षीलाई सहयोग गरेको आरोपमा आचार्यलाई मुख्यमन्त्रीले आजै हटाउने भएका हुन् । आचार्यले गोरखा २ (१) बाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए । बाबुराम भट्टराईको पार्टीबाट मन्त्री बनेका आचार्यले पछि उम्मेदवारी फिर्ता भने लिएका थिए ।

उनको पार्टी नेपाल समाजवादी पार्टी भने सत्ता गठबन्धनमा सामेल छ । तर , आचार्यले गोरखामा एमालेलाई सहयोग गरेको आरोप छ ।मुख्यमन्त्री पोखरेल नवलपुरबाट पोखरा आउँदै गरेको उनी निकट स्रोतले जनायो । मन्त्री आचार्यले भने आज पनि कार्यकक्षमै छन् । मन्त्रीबाट हटाइन लागेको थाहा नभएको बताए । तर हटाइए पनि आफूलाई पश्चाताप नहुने उनको भनाइ छ ।

उम्मेदवारी दर्ता गर्दाको समयदेखि नै आफू कुनै पार्टी नरहेको र स्वतन्त्र भएको प्रतिक्रिया उनले दिएका छन् । उनले ‘मैले कसैलाई भोट मागेको छैन, कसैको चाकडी गरेर पदमा बस्नु पनि छैन,’ बताएका हुन् । गोरखा २ (ख) बाट प्रदेश सभामा बाबुराम भट्टराईनिकट फणीन्द्र देवकोटा सत्ता गठबन्धनबाट उम्मेदवार छन् ।