Breaking

मोहम्मद इस्तियाक राईलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण


काठमाडौँ – बाँके निर्वाचन क्षेत्र नंम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मोहम्मद इस्तियाक राईलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

जसपाका नेतासमेत रहेका राईले निर्वाचन प्रचारप्रसारका क्रममा डुडुवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र चौधरी (पप्पु) विरुद्ध अपमानजनक अभिव्यक्ति दिएको उजुरीका आधारमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

आफैंले वा प्रतिनिधिमार्फत २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय बाँकेमा स्पष्टीकरण दिन आयोगले निर्देशन दिएको छ ।

‘निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुने गरी डुडुवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र चौधरी ९पप्पु०का विरुद्ध तपाईंले अपमानजनक अभिव्यक्ति दिनुभएको हो, होइन ? ’ स्पष्टीकरण पत्रमा भनिएको छ, ‘तपाईंले गाउँपालिकाका अध्यक्ष सुरेन्द्र चौधरी (पप्पु) का विरुद्ध अपमानजनक अभिव्यक्ति दिएको भए निर्वाचन आचारसंहिताको उल्लंघनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिम किन कारबाही हुनु नपर्ने हो ?’

इस्तियाकको अभिव्यक्ति निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गतको खण्ड (ण) को प्रावधानविपरीत भएको आयोगको ठहर छ ।

उक्त खण्डमा ‘कसैको चरित्र हत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न वा गराउन नहुने’ व्यवस्था छ ।