देश

सरेश नेपालको गाउँमा गठबन्धन उम्मेदवारलाई भब्य स्वागत


काठमाडौँ— नेकपा एमालेका नेता तथा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार सरेश नेपालको गाउँमा गठबन्धनका उम्मेदवारलाई स्थानीयले भब्य स्वागत गरेका छन् ।

आज सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ मा पर्ने सुनकोसी गाउँपालिकाको कापिङमा भएको कार्यक्रममा प्रतिनिधिसभाका लागि लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा सुबोध र प्रदेशसभा सदस्यका उम्मेदवार सरल सहयात्री पौडेललाई स्थानीयले खादा र माला लगाएर भव्य स्वागत गरेका हुन् ।

कार्यक्रममा स्थानीयले यस पटक नयाँ अनुहारलाई चुन्न चाहेको बताएका छन् । गठबन्धनका साझा उम्मेदवार सापकोटा र पौडेल पहिलो पटक सांसदमा उठेका हुन् । पटक पटक एमालेलाई जिताएपनि नागरिकको अवस्था नफेरिएको भन्दै यस पटक नयाँ अनुहारलाई जिताउने उनीहरुको भनाई थियो । भोट माग्ने समयमा मात्रै नेताहरु गाउँ आउने गरेको भन्दै स्थानीयले गठबन्धनका उम्मेदवारसँग गुनासो गरेका थिए ।

नागरिकका गुनासा सुन्दै प्रतिनिधिसभाका उम्मेदवार माधव सापकोटा सुबोधले आफु भोट माग्न मात्रै नआएकाले आफुले जितेपछि पनि नागरिकसँगै गाउँको विकासमा खटिने प्रतिबद्धता व्यक्त गरे । सिन्धुपाल्चोक क्षेत्र नम्बर एकमा नेकपा एमालेले सरेश नेपाललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।