काठमाडौँ— प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत बागमती प्रदेश र मधेस प्रदेशबीच आज सम्पन्न खेल बराबरीमा सकिएको छ ।
१९१ रनको लक्ष्य पछ्याएको बागमतीले चार बल बाँकी छँदा सबै गुमाउँदै १९० रन नै बनाएपछि खेल बराबरीमा सकिएको हो ।बागमतीका लागि पृथु बास्कोटाले सर्वाधिक ४० रनको योगदान दिँदा रीत गौतमले ३२ र इशान पाण्डेले ३१,सूर्य तामाङले २८,विवेक मगरले २५ रन जोडे । मधेसका लागि प्रदीप पास्वान र राजेश यादवले तीन–तीन र रुपेश सिंहले दुई तथा हरिशंकर शाह एक विकेट हात पार्दा एक विकेट रन आउटका रूपमा प्राप्त भयो ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मधेस प्रदेशले ४६।२ ओभरमा सबै विकेट गुमाउँदै १९० रन बनाएको थियो । उसका लागि रोहन विकले ९४ बलमा ६ चौका र दुई छक्कासहित ६३ रनको अर्धशतकीय पारी खेले । सन्तोष कार्कीले २३,राजेश यादवले १६,कप्तान हरिशंकर शाहले १३ र विशाल शुस्लिङ्गले ११ रन जोडे । बागमतीका लागि नन्दन यादव र सूर्य तामाङले तीन–तीन तथा रामनरेश गिरी र प्रतिश जिसीले दुई–दुई विकेट हात पार्दा एक विकेट रन आउटका रूपमा प्राप्त भयो ।
यो नतिजासँगै तीन खेलमा पाँच अंक जोडेको मधेस प्रदेशले समूह‘बी’बाट सेमिफाइनलमा स्थान सुरक्षित गर्दा चार खेलबाट एक अंकका साथ बागमती पुछारमा रहँदै बाहिरिएको छ ।
प्रतिक्रिया