काठमाडौँ— कार्यकाल पुरा गर्न नपाउदै आफ्नै संविधान विरोधी हर्कतका कारण पदच्यूत बनेका एमाले अध्यक्ष केपी शर्मा ओली फेरी देशको वागडोर सम्हाल्ने लक्ष्यमा छन । मुल ढोकाबाटै सिंहदरवार छिर्ने बताँउदै आएका उनी आगामी चुनावमा आफ्नो पार्टीले वहुमत ल्याउने दावी समेत गर्दै आएका छन । १ सय ५० सिट जित्ने उदेश्य सहित अघि बढेका उनले के आधारमा त्यो दावी गरिरहेका छन त ?
चुनावी प्रचारप्रसारमा रहेका शिर्ष नेताहरु अहिले आफूलाई भावी प्रधानमन्त्रीको रुपमा उभ्याउदै भोट मागिरहेका छन । सत्ता गठबन्धनको प्रष्ट वहुमत आउने आशामा कांग्रेस सभापती शेरबहादुर देउवा देखि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसम्मले यो दावी गर्दा एमाले अध्यक्ष केपी शर्मा ओली पनि यो दौडमा छन । कांग्रेसबाट त झन यो संख्या ठुलो छ । यहि सन्दर्भमा विहिवार नेकपा (एमाले) उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले आउँदो मंसिर ४ पछि देशमा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठन हुने दाबी गरेका छन् ।
आफ्नो निर्वाचन क्षेत्र (इलाम–२)को एकतप्पामा मतदाताहरूसँग भेटघाट गर्दै उनले मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एमालेको बहुमत आउने दाबी गर्दै नेम्वाङले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने बताएका थिए । यो दावी उनको मात्र हैन, सत्ता गठबन्धनका उम्मेद्वार देव गुरुङसंग चुनावी प्रतिस्पर्धामा रहेका एमालेका उप–महासचिव पृथ्वीसुब्बा गुरुङ पनि चुनावपछि बहुमतसहित ओली प्रधानमन्त्री बन्ने दावी गर्दै आएका छन । आसन्न प्रतिनिधिसभा निर्वाचनमा लमजुङबाट उम्मेदवार बनेका उनी गण्डकीमै ३६ मध्ये २२ सीट जित्ने आशामा रहेका छन ।
एमालेले घोषणापत्रमै ओली नेतृत्वमा वहुमतको सरकार आवश्यक रहेको उल्लेख गरिरहँदा यहि वोली ओली पनि बारम्बार दोहोर्याउदै आएका छन । मिसन १ सय ५० भन्दै अघि बढेका उनी यो निर्वाचन पछि आफ्नो नेतृत्वमा एमालेको सरकार बन्ने दावी गर्दै आएका उनी एमालेले वहुमत नल्याए देशको दुभाग्र्य हुने समेत बताँउदै आएका छन । एमाले नेताहरुका अनुुसार सत्ता गठबन्धन स्थानीय तह निर्वाचनमा भन्दा कमजोर बन्दै गएको छ । जनमतसहितको जसपाले पार्टी छाड्नु यसैको उदाहरण भएको बताउने उनीहरु आफूले धेरै स्थानमा दिएको उम्मेद्वारीले समेत वहुमतको यात्रा सुनिश्चित गर्ने बताउछन । विगतमा माओवादीलाई भाग दिदा सिट संख्यामा खुम्चिनु परेपनि प्रत्यक्षमा ८० सिट र समानुपातिकमा ४१ सिट जितेको बताउने ओली स्थानीय तह निर्वाचनमा सन्तोषजनक भएकोे दावी गर्छन । त्यस्तै राप्रपा र जसपासंग भएको तालमेलले पनि आफ्नो सिट संख्या बढाउने एमाले नेताहरुको आशा छ ।
त्यस्तै ७५ भन्दा बढि युवा उम्मेद्वार बनाएको एमालेले चुनाव खर्च नगरि नजितिने कुरालाई पनि ध्यान दिएको छ । फलत: धनाढ्य व्यापारीलाई पनि टिकटमा समेटेको एमालेले श्याम घिमिरे र शरेस नेपाल जस्ता सैद्धान्तिक तर अवसर नपाएकाहरुलाई पनि यो पटक अवसर दिएको छ । यसले भीम रावल र घनश्यामको घाटा पूर्ती हुने आशामा रहेको एमाले विगतको निर्वाचनमा तेश्रो स्थानमा रहेको माओवादी जिताउने गरी कांग्रेसको भोट ट्रान्सफर नहुने प्रक्षेपण गरिरहेको छ । एमालेको मुख्य रणनिति नै गठबन्धनका कार्यमाथि प्रश्न उठाउनेमा केन्द्रीत छ भने राष्ट्रिय शक्ती आफू मात्र भएको भाष्य निर्माणमा व्यस्त छ ।
यसैको उपज दार्चूलाबाट निर्वाचन केन्द्रीत अभियान सुरु गरेर पार्टीले राष्ट्रवादी छवी प्रदर्शन गर्न व्यस्त छ । अर्कातर्फ निर्वाचन अगाडी गठबन्धन फुटाउन नसकेको एमाले निर्वाचन पछि निर्णायक शक्ती बन्ने प्रचण्डको दावीलाई पनि प्रयोग गर्न सकिन्छ कि भन्ने आशमा पनि छ ।
प्रतिक्रिया