काठमाडौँ— प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र भएकै कारण पनि डडेल्धुरा चासोमा छ । यहाँबाट देउवा सातौंपटक निर्वाचन लड्दैछन् । तर दलीयसहित स्वतन्त्र उम्मेदवार देउवाको चुनौती बनेका छन् । राजनीतिक माहोल प्रतिकुल होस् वा अनुकुल । २०४८ सालदेखि जस्तोसुकै अवस्थामा पनि डडेल्धुराबाट निर्वाचनमा अपराजित यात्रा गरिरहेका कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा सातौंपटक चुनाव लड्दैछन् ।
देउवाले कांग्रेसभित्र अन्तरकलह चर्किएको २०५१, माओवादीको प्रभाव भएको २०६४ र वामलहर चलेको २०७४ मा पनि डडेल्धुराबाटै चुनाव जिते । बाँकी तीन निर्वाचन त सजिलै जितेकादेउवाले एउटै निर्वाचन क्षेत्रबाट लगातार ६ पटक विजयी हुने नेताको कीर्तिमानसमेत बनाएका छन् । आसन्न मंसिर ४ को निर्वाचनका लागि देउवा फेरि यतिबेला गृहजिल्लामा सक्रिय छन् ।सातौंपटकको चुनावमा भने पहिलोपटक देउवालाई कम्युनिष्टको पनि मत पाउने साइत जुरेको छ । तर कांग्रेसभित्रै भएको विद्रोहका कारण विगतमा पाइरहेको मत भने उनले यसपटक पाउने छैनन् । किनकि देउवाकै दाहिने हात भएर काम गरेका कर्ण मल्लले१४ औं महाधिवेशनबाट विद्रोहको राको बालेर स्थानीय हुँदै संसदीय निर्वाचनमा समेत विपक्षी मोर्चा सम्हालेका छन् ।
देउवाविरुद्धै प्रतिनिधिसभामा उम्मेदवारी दिएका मल्ल अहिले सबैभन्दा बलियो प्रतिस्पर्धी बनेका छन् । काँग्रेसी बीपीबाट उम्मेदवारी दिएपनि मल्लको पक्षमा काँग्रेसकै ठूलोपंक्ति खुलेको छ ।तर प्रमुख विपक्षी दल नेकपा एमालेले यहाँ उम्मेदवारी नै दिएको छैन । बरु मल्लका नाममा समर्थन गर्ने घोषणा गरेपछि देउवालाई थप चुनौती बढेको छ । तर मल्ललाई समर्थन दिने एमालेकै भूमिका दुईमुखे भएपछि देउवालाईसहज बन्दै गएको छ । एमाले अध्यक्ष ओलीले केन्द्रबाटै मल्ललाई समर्थन गर्ने घोषणा गरेपनि जिल्ला नेतृत्वले साथ नदिने दाबी गर्दैआएको छ ।
तर कुनैबेला अक्सफोर्ड पढेको प्रधानमन्त्री चाहिन्छ भन्दा देउवाको हप्की खाएका गुल्मीका सागर ढकाल अहिले बेलायतको अक्सफोर्ड विश्वविद्यायलबाटै अध्ययन पुरा गरि देउवाकै निर्वाचन क्षेत्रमा गएर स्वतन्त्र उम्मेदवारी हालेका छन् ।छोटो समयमै गरिएको तयारीका बीच पनि ढकाल कमजोर छैनन्, एजेन्डा र योग्यताका हिसावले अब्बल देखिएका उनी देउवामाथि नै चुनौती बनिरहेका छन् ।
तर विकटका भोटर स्वतन्त्रको निकट हुन अझै समय लाग्ने देखिएपछि ढकाललाई खासै खड्गो मानिएको छैन ।उनीबाहेक विक्रमबहादुर शाहीले समेत देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन् । तर संसदीय राजनीतिमा देउवाको अपराजित यात्रा रोक्न तम्सेका नेताहरुमा बलियो आत्मविश्वास नहुनु र देउवाले सधैं जित्नुको जगमा उनको व्यक्तिगत राजनीतिक उचाइसँगै कांग्रेसप्रति जिल्लामा विश्वासिलो आधार र गठबन्धनको समेत साथ रहेकाले देउवा दोहोरिने सम्भावना छ ।
यद्यपी छैटौंपटक यसअघि नै जितेका देउवाले जनताको अपेक्षाअनुसार विकास गतिविधि नगर्दा निरासा पनि छ । अहिले आएर निर्वाचनकै मुखमा पत्नी आरजु राणाबाट आइरहेका विवादित अभिव्यक्तिले समेत देउवाकै भोट घटाइरहेको विश्लेषण भइरहेका छन् ।


प्रतिक्रिया