काठमाडौँ— मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि १२ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ। निर्वाचन सुरक्षाका लागि सुरक्षाकर्मी जनपद र म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट खटिनेछन्।
जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार निर्वाचन प्रयोजनका लागि चार किसिमका सुरक्षाकर्मी गरी एक हजार २६८ जना सुरक्षाकर्मी परिचालन गर्न लागिएको छ। जिल्लाका ५८ वटै मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी सुरक्षाका हिसाबले वर्गीकरण गरिएको र त्यसैअनुुसार ती सुरक्षाकर्मी निर्वाचनका लागि खटिनेछन्।
सुरक्षाका हिसाबले जिल्लाका २४ वटा मतदानस्थल अतिसंवेदनशील, २२ जना संवेदनशील र १२ वटा मतदानस्थल सामान्य जसमा ३३५ जना जनपद प्रहरी, ५३८ जना म्यादी प्रहरी, १८५ जना सशस्त्र प्रहरी र २२० जना नेपाली सेना खटिनेछन्। निर्वाचनका लागि खटिने सेना भने जिल्लाकै बराहदल गुल्म रानीवनबाट ११० जना र सुर्खेतबाट आउने नयाँ सबुज गुल्मका ११० जना गरी खटिनेछन्। सबुज गुल्म सुुर्खेतबाट सेनाको टोली पैदल मार्गबाट हुम्लाका लागि हिँडिसकेको सेनाले जनाएको छ।
त्यसैगरी सशस्त्र प्रहरीको ३० जनाको टोली सुर्खेतबाट आएर सर्केगार्डमा निर्वाचन सुरक्षा बेसका रुपमा बसिसकेको छ। यसमा प्रहरीको मोबाइल टोली, सशस्त्र प्रहरी निर्वाचन सुरक्षा बेस र नेपाली सेनाको दक्षिणी क्षेत्रमा खटिने मोबाइल टोलीसमेत त्यही संख्याभित्र पर्नेछ।
प्रतिक्रिया