देश

उपचारमा मात्र ध्यान केन्द्रित नगरी स्वास्थ्य शिक्षामा ध्यान आवश्यक छ: सोनाम गेल्जेन शेर्पा


काठमाडौँ— राष्ट्रियसभाका सदस्य सोनाम गेल्जेन शेर्पा स्वास्थ्य सेवा सबैको मौलिक अधिकार भएको बताउनुभएको छ । विश्वको सर्वाच्च शिखर सगरमाथा जाने मार्ग सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङमा आज १५ श्ययाको ‘हिमालयन शेर्पा अस्पताल’को उद्घाटन कार्यक्रममा बोल्नु हुँदै उपचारमा मात्र ध्यान केन्द्रित नगरी स्वास्थ्य शिक्षामा ध्यान आवश्यक भएको उहाँले बताउनुभयो ।

नागरिकलाई बिरामी हुन नदिनु नै प्रमुख कुरा भएको उल्लेख गर्दै त्यसतर्फ सबै सचेत हुन आवश्यक भएको बताउनुभयो । खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरिङ शेर्पाले विकट क्षेत्रमा अस्पतालको आवश्यकता रहेका बेला हिमालयन शेर्पा फाउण्डेशनले स्थापना गरेको यस अस्पतालबाट नागरिकलाई ठूलो राहत पुगेको बताउनुभयो । यसबाट गाउँपालिकाका ११ वटा गाउँका १० हजारभन्दा बढी नागरिकलाई उपचार गर्न सहज हुने बताउनुभयो । आर्थिक अवस्था कमजोर भएको गाउँपालिकामा बिरामी उपचार गर्न समस्या भएका बेला अस्पताल स्थापना हुँदा स्थानीयलाई राहत मिलेको उहाँले उल्लेख गर्नुभयो ।

सबैभन्दा बढी फाइदा स्थानीयका साथै यहाँ घुम्न आउने पर्यटकलाई भएको उहाँको भनाइ थियो । सो अवसरमा अस्पतालका संस्थापक हिमालयन शेर्पा फाउण्डेशनका अधयक्ष पर्यटन व्यवसायी फुर्वा ग्याल्जेन शेर्पाले अस्पताल स्थापना गर्नुको उद्देश्यबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराउनुभएको थियो । स्थानीय र पर्यटकले उपचार अभावमा ज्यान गुमाउनु परेको अवस्थालाई ध्यानमा राख्दै अस्पताल स्थापना गरेको उहाँको भनाइ थियो । पर्यटक लेक लागेर बीचमै भ्रमण गर्ने इच्छा त्यागेर आफ्नो देश फर्किने गरेका तथा स्थानीय लेक लागेर ज्यानै गुमाउनुपर्दाको अवस्थाबारे उहाँले राष्ट्रपति भण्डारीसमक्ष अवगत गराउनुभएको थियो ।

बिरामीलाई घण्टौँ टाढा लुक्ला अस्पताल लैजानुपर्दाको पीडाबाट प्रभावित भई अस्पताल स्थापना गरेको उहाँले बताउनुभयो । यसका लागि विदेशी दाताहरुको सहयोग महत्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो । पर्यटन व्यवसायी शेर्पा परिवारले व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत खुम्बु पासाङल्हामु गाउँपालिकाको फाक्दिङमा सुविधायूक्त १५ श्ययाको अस्पताल निर्माण गरेको हो । यो अस्पताल निर्माण गर्न करिब रु २० करोड लगानी भएको हिमालय शेर्पा फाउन्डेसनकी उपाध्यक्ष कान्छी फुटी शेर्पाले जानकारी दिनुभयो । अस्पताल कोङ्दे हिमालको काखमा (दुई हजार ६१० मिटर) उचाइमा अवस्थित छ । सामाजिक क्षेत्रमा काम गर्नका लागि शेर्पा परिवारले फाउन्डेसन स्थापना गरेको हो । स्थानीयलाई निःशुल्क र विदेशीलाई सहुलियत शुल्क लिएर उपचारको थालनी आजैदेखि गरिएको संस्थापक शेर्पाले बताउनुभयो ।

नाफा कमाउने उद्देश्यले नभई स्थानीयलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन खोलेको शेर्पाको भनाइ छ । अस्पताल सञ्चालन तथा व्यवस्थापन फाउन्डेसनले गर्नेछ । उपचारबाट आउने रकम फाउन्डेसनका नाममा रहने र सोही रकमबाट चिकित्सकलाई तलबसहित अन्य सेवासुविधा उपलब्ध गराइनेछ । यस अस्पतालमा अल्टिच्युड, फुड पोइजन, चोटपटक लागेका स्वदेशी तथा विदेशी पर्यटकको उपचार हुनेहुँदा यस क्षेत्रको पर्यटन पनि लाभान्वित हुने अपेक्षा गरिएको छ । अहिलेसम्म यस क्षेत्रका बासिन्दा बिरामी पर्दा नाम्चे उक्लनुपर्ने वा लुक्ला झर्नुपर्ने बाध्यता थियो ।जुलाई, २०१७ मा नै शिलान्यास गरिएको अस्पताल कोभिड–१९ का कारण निर्माणमा ढिलाइ भएको शेर्पाले बताउनुभयो ।

जर्मनीका नागरिक डा मथेस बाउमेनले रु पाँच करोड र अन्य दाताबाट थप रु दुई करोड सहयोग प्राप्त भएको संस्थापक शेर्पाले जानकारी दिनुभयो । हाल अस्पतालमा एक जना डाक्टर र तीन जना स्वास्थ्यकर्मी कार्यरत छन् । अस्पतालमा एक वर्षभित्र अक्सिजन प्लान्ट पनि सञ्चालनमा ल्याइने योजना छ । त्यसका लागि रु ५० लाख रकम खर्च हुने बताइएको छ । एकातर्फ यहीँको अस्पताल टाढा रहेको भए पनि हिँडेरै जानुपर्ने र अर्कातफै मौसम खराबी हुँदा काठमाडौँसम्म बिरामीलाई लैजानसमेत समस्या भइरहेको थियो ।