Breaking

मतदाता प्रभावित पार्नेलाई कारवाही गर्न आयोग पछि हट्दैन : प्रमुख आयुक्त थपलिया


काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन भयरहित र निष्पक्ष रुपमा सम्पन्न गरिने बताएका छन् ।

कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति सिर्जना हुन नदिने गरी निर्वाचन आयोगले तयारी गरिरहेको उनले बताए । झापाको बिर्तामोडमा आयोग र नेपाल कानुन समाजले आइतवार गरेको ‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले यस्तो बताएका हुन् ।

ठूलो प्राकृतिक विपत्तिबाहेक सुरक्षाका कारण वा राजनीतिक दलले कुनै पनि मतदातालाई प्रभाव पार्ने दुस्प्रयास गरे सम्बद्ध दल वा व्यक्तिलाई नै कानुनबमोजिम कारबाही गरिने उनले बताए । तर त्यहीकारण पुनः मतदान हुन नदिनेमा आयोग रहेको थपलियाको भनाइ थियो ।

मतदातालाई लोभ, लालच, धाक वा धम्कीका कारण मतदान गर्नबाट अफ्ट्यारो स्थिति सिर्जना गर्न नदिने गरी आयोगले देशभर सचेतनामूलक कार्यक्रम लिएर हिँडिरेको बताउँदै उनले त्यही सन्दर्भमा झापामा पनि कार्यक्रम गरिएको उल्लेख गरे ।

निर्वाचन आचारसंहिता र निर्वाचन खर्चको पालनासहित स्वच्छ र स्वतन्त्र निर्वाचन गराउने प्रक्रियामा आयोग रहेकाले सामाजिक सञ्जालमार्फत प्रशारण हुनसक्ने मित्थ्या सूचना, दुस्प्रचार र घृणाष्पद अभिव्यक्ति रोक्नसमेत आयोग लागि परेको उनले बताए ।

थपलियाले निर्वाचनको स्वच्छतासँगै लोकतन्त्र र अभिव्यक्तिगत स्वतन्त्रतालाई भरपूर उपभोग गराई सम्पन्न गराउन आयोग अघि बढेको जानकारी दिए ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञावाली, प्रमुख जिल्ला अधिकारी छवि रिजाल, प्रहरी प्रमुख विश्वमणि पोखरेल, नेपाल बारका पदाधिकारी, उम्मेदवार तथा जिल्लामा रहेका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र नागरिक समाजका सदस्य सहभागी थिए ।