Breaking

खुम्बु क्षेत्रमा हिमालय शेर्पा फाउन्डेशनले बनायो सुविधासम्पन्न अस्पताल, राष्ट्रपति भण्डारीबाट उद्घाटन


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सोलुखुम्बुमा निर्मित १५ शैयाको अस्पताल उद्घाटन गर्नु भएको छ ।
राष्ट्रपति भण्डारीले सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका-३ फाक्दीङमा हिमालय शेर्पा फाउन्डेशनको २० करोडको लागतमा नवनिर्मित अस्पताल भवनको उद्धघाटन गर्नुभएको हो ।

सगरमाथा जने मुख्य पद मार्गमा पर्ने लुक्ला र नाम्चेको बीचमा निर्माण गरिएको अस्पतालको मुख्य लगानीकर्ता हेली एभरेष्ट प्रालिका प्रबन्ध निर्देशक फुर्बा गल्जेन शेर्पा हुनुहुन्छ । उहाँ हिमालयन शेर्पा फाउन्डेसनका अध्यक्ष समेत हुनुहुन्छ ।

शेर्पाले सन् २०१५ मा क्लिनिक स्थापना गरी निःशुल्क सेवा सुरु गर्नुभएको थियो । उहाँलेसन् २०१६ देखि अस्पताल निर्माण कार्यको थालनी गर्नु भएको थियो । कोरोना महामारीले गर्दा काम प्रभावित भएर केही ढिलो भए पनि अहिले सेवा सुरु भइसकेको अस्पतालको अध्यक्षसमेत रहेका शेर्पाले बताउनुभयो ।

खुम्बु क्षेत्रमा पहिलो सुविधासम्पन्न अस्पताल निर्माण भएको हो । अस्पताल नहुँदा स्थानीय र पर्यटकको उपचारमा समस्या हुँदै आएको थियो । अस्पताल निर्माण भएसँगै उपचारमा सहज भएको स्थानीय बताउँछन् ।