Breaking

डडेलधुरामा प्रधानमन्त्रीको व्यस्तता : आज दुई सभामा सम्बोधन गर्ने


काठमाडौँ – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार पनि गृहजिल्लामा दुई चुनावी सभामा सम्बोधन गर्दै छन् ।

बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने आमसभामा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । ​

देउवा चुनावी कार्यक्रममै व्यस्त रहेकाले काठमाडौँ फकिने समय तय भइनसकेको उनका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । देउवा गत बुधबार मात्र धनगढी हुँदै बिहीबार डडेलधुरा पुगेका थिए । उनले बिहीबार अमरगढी नगरपालिकास्थित बसपार्क तथा शुक्रबार नवदुर्गा गाउँपालिका बेलापुर खुनी र गन्यापधुरा गाउँपालिका बडालमा सम्बोधन गरेका थिए ।

देउवाले शनिबार अजयमेरू गाउँपालिका भद्रपुर र भागेश्वर गाउँपालिका रूपालमा भएको आमसभा सम्बोधन गरेका थिए । ​देउवा मंसिर ४ गते हुने चुनावमा सत्ता गठबन्धनका तर्फबाट डडेलधुरामा प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । यसअघि २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा विजयी भएका थिए । उनले २०६४ मा कञ्चनपुर–४ र २०७० मा कैलाली–६ बाट पनि चुनाव जितेका थिए ।