काठमाडौँ—आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारलाई भ्याइ नभ्याइ छ । त्यस्तै स्याङ्जामा दुई पार्टीका चर्चित अनुहारबीच प्रतिष्पर्धा हुने भएपछि त्यहाँको माहोल तात्दै गएको छ । स्याङ्जा जिल्लामा जम्मा २ वटा निर्वाचन क्षेत्र छन् । जसमध्ये क्षेत्र नम्बर १ मा २०७० देखि निरन्तर चुनाव लड्दै आइरहेका उम्मेदवार पुनः भिड्दै छन् भने २ मा भने पूर्वमन्त्री र कांग्रेसका उपसभापति सांसद बन्ने दौडमा छन् ।
स्याङ्जा १ को नै कुरा गर्ने हो भने त्यहाँ दशक अघि देखिका परिचित उम्मेदवार एक अर्काबीच चुनावी मैदानमा उत्रिएका छन् । २०७० देखि निरन्तर चुनाव लड्दै आइरहेका नेकपा एमालेका नारायणप्रसाद मरासिनी र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका राजु थापा तेस्रो पटक एकअर्का विरुद्ध चुनावमा होमिएका छन् । ०७० मा थापालाई रोजेका स्थानीयले ०७४ मा भने मरासिनीलाई विजयी गराए । पटक पटक आफ्नो मत फेर्न खप्पिस स्याङ्जा १ मा १ स्वतन्त्र सहित १२ जनाले उम्मेदवारी दिएका छन् । संसद्को दौडमा जति भए पनि मुख्य प्रतिष्पर्धी भने सांसद यी दुईबीच नै हुने निश्चित छ ।नेपाली कांग्रेसको १४ महाधिवेशनबाट पार्टीको केन्द्रीय उपसभापति भईसकेपछि उम्मेदवारी निश्चित गरेका धनराज गुरुङ स्याङ्जा २ का उम्मेदवार बनेका छन् ।
महिनौ देखि जिल्लमै घुमिरहेका गुरुङ मतदाता लोभ्याउनका लागि प्रतिपक्षीको आलोचनाका मात्रै गरेका छैनन् कि आफू सरकारमा पुगेपछि सिंहदरबारमा स्याङ्जाको प्रतिनिधित्व गर्ने बताउँदै हिडेका छन् । त्यसैले उनी मतदातामाझ आफूले जिते सानातिना मन्त्री होइन ठूलै मन्त्री भएर यहाँको विकास निर्माणमा प्रत्यक्ष काम गर्ने वाचा गरिरहेका छन् । युवालाई लक्षित गरेर चुनावी मैदानमा होमिएका गुरुङको देशमा बढ्दो भष्ट्राचारलाई नियन्त्रण गर्न अभियान थाल्ने मात्रै होइन, आफ्नै पार्टीका भष्ट्र नेतालाई नै कारवाही गर्ने प्रमुख चुनावी मुद्धा बनेको छ ।
२०७४ सालको निर्वाचनमा तत्कालीन उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पराजित गरेर चर्चा कमाएकी नेकपा एमालेकी पद्मा अर्यालले पनि स्याङ्जा २ बाटै आफ्नो उम्मेदवारी दर्ता गराएकी छिन् । गत निर्वाचनमा गोपालमानको विरासतलाई तोडेर यात्रा तय गरेकी अर्याल मन्त्रीसम्मको पदमा बसिन् । यसै क्षेत्रबाट निर्वाचित भएर पटकपटक मन्त्री बनेकी अर्याल भूमिसुधारमन्त्री भईचुच्चे नक्सा निकाल्दा आफ्नो महत्वपूर्ण योगदान रहेको कुरा बताउँदै मतदातामाझ नक्सा नै लिएर घरदैलोमा पुगिरहेकी छिन् ।स्याङ्जा १ को तुलनामा क्षेत्र नम्बर २ को चुनावी प्रतिष्पर्धाले देशको नै ध्यान तानेको छ । स्याङ्जा २ अहिले चुनावले तातिरहँदा पद्माले बाजी मार्छिन् या धनराजले सबैको चासो छ ।
पहिलो पटक प्रतिनिधिसभाको चुनाव लड्न लागेका गुरुङका लागि जित प्रतिष्ठाको विषयमात्रै हुने छैन कि राष्ट्रिय राजनीतिमा उदाउने महत्वपूर्ण अवसर पनि बन्ने छ । यता पटकपटक मन्त्री बनिसकेका कारण एमाले सरकारमा आए पुनः अर्यालले पनि कुनै मन्त्रालय सम्हाल्न सक्ने आधार छन् । स्थानीय स्तरमा फुटेको कम्युनष्टिका मन जोड्न सके अर्यालको जित सुनिश्चित देखिन्छ । तर, अर्याल मन्त्री हुँदा त्यो क्षेत्रमा कति काम गरिन्, जनताको मुद्धामा कतिको सम्बोधन गरिन् त्यो मंसिर ४ पछिको निर्वाचन नतिजाले नै देखाउने छ ।
प्रतिक्रिया