काठमाडौँ— आसन्न मंसिर ४ को चुनावका लागि निर्वाचन आयोगले प्रचारको समय खुल्ला गरेसँगै राजनीतिक दलहरु व्यापक प्रचारमा जुटेका छन् । त्यसमा पनि पाँच दलीय सत्ता गठबन्धनविरुद्ध आफ्नै तालमेल जुराएर चुनावमा होमिएका ओलीको शैली आक्रामक बन्दै गएको छ ।
ओलीले सत्ता गठबन्धनका कमजोरीलाई मुद्धा बनाएका छन् । यसैपनि आक्रामक स्वभावका एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचन बेला नरम हुने कुरै भएन ।चुच्चे नक्साको जिल्ला दार्चुलाबाट चुनावी सभाको ध्वनी फुकेपछि ओली झन गरम बनेका छन् । अब पाँच दलीय गठबन्धनको सात्तो खाएर ब्यालेट भर्नु ओलीको नीति बनेको छ ।सँगसँगै राष्ट्रियताको पक्षमा खरो वकालत गर्दै आएका उनले भारतले मिचेको एक एक इञ्च जमिन फिर्ता ल्याउने आँट देखाएर जनताको मन जित्ने प्रयास गरेका छन् । हुनत ‘टालाटुली बटुली, कति राम्री पुतली’ हो ।
तर गठबन्धनका क्रियाकलापमा गहिरो नजर गाँडेका ओलीले सरकार सञ्चालनदेखि गठबन्धनका नाममा भइरहेको बेथितीमाथि व्यङ्य गर्दै ‘टालाटुली बटुली, कति राम्री कठपुतली’ भनेका छन् । यसैपनि सांगठनिक आधारमा पहिलो शक्तिका रुपमा स्थापित एमाले स्थानीय तहको निर्वाचनमा केही खुम्चिएको छ । त्यसको साटो फेर्नकै लागि पनि संसदीय निर्वाचनमा ओलीको शैली आक्रामक बनेको छ । विपक्षीमाथि कडा नजर राख्नु र विपक्षीकै नीतिमाथि हस्तक्षेप गर्दै आफु स्थापित हुनु ओलीको अर्जुनदृष्टि हो ।फलतः विपक्षी दलको भण्डाफोर गर्दै हिडिरहेका ओलीले काँग्रेस शाब्दिकलोकतान्त्रिकको शब्दजालमा रमाइरहेको र प्रचण्ड–माधव विधिको समस्या रहेको दाबी गरेका छन् ।
त्यतिमात्रै कहाँ हो र ?चितवनमा चुनाव हार्ने बुझेपछि रातारात गोरखा पुगेर आफुलाई सुरक्षित बनाएका माओवादी अध्यक्ष प्रचण्डलाई भगौडाको बिल्लासमेत भिराएका छन् । यसअघि नै काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई लाइभ डिबेटको निम्तो दिएर चुनौती प्रहार गरेका ओलीले ‘कल केपी बा’को अभियान चलाएर बच्चादेखि वृद्धासम्म चर्चा बटुलेका छन् ।फेरि एकपटक ओली नै प्रधानमन्त्री भन्ने भन्ने आवाजलाई व्यापक बनाउन थालेका छन् । एमाले पनि ओलीकै मुखोट देखाएर देशभर प्रभाव छोड्ने तयारीमा छ ।
चुनावको मुखमै ओलीको राष्ट्रवादी छबि फेरि झल्किन थालेपछि सत्ता गठबन्धन झस्किन थालेको छ ।फलतः गठबन्धनका नेताहरु पनि ‘काउन्टर अट्याट’ दिन थालेका छन् । ओली नेतृत्वको सरकारले जारी गरेको चुच्चे नक्सा, आर्थिक अवस्था र विकास निर्माणलाई उपलब्धिको रुपमा लिँदै गठबन्धनलाई कमजोर पार्ने नीति एमालेको छ ।देउवा नेतृत्वको सरकारको कमजोर आर्थिक वृद्धि, सत्ता सञ्चालनमा देखिएको बेथितिलगायतलाई मुख्य मुद्दा बनाएकाओली सत्ता गठबन्धनको आन्तरिक कलहलाई समेत कमजोरी बनाएर नाफा निकाल्ने दाउमा छन् ।तर पश्चिमबाट उदाएर पूर्वमा सुरक्षित अवतरणको बाटो खोजिरहेको ओलीको सूर्य कति सफल होला ? मंसिर ४ ले पर्दाफास गर्नेछ ।
प्रतिक्रिया