खेलकुद

वल्भ्सको प्रशिक्षकमा लोपेटेगुइ नियुक्त


काठमाडौँ— इंग्लिस प्रिमियर लिगको क्लब वल्भरह्याम्पटन वान्डरर्सले स्पेनिस प्रशिक्षक जुलेन लोपेटेगुइलाई आफ्नो नयाँ प्रशिक्षकको रुपमा अनुबन्ध गरेको छ । स्पेनका ५६ वर्षीय प्रशिक्षक लामो समयको छलफलपछि टोलीको जिम्मेवारी सम्हाल्न राजी भएका हुन् ।

वल्भ्सले गत महिना नै पोर्चुगलका ब्रुनो लाजलाई बर्खास्त गरेको थियो । वल्भ्सको पहिलो प्रयासमा लोपेटेगुइले पारिवारिक कारण देखाउँदै आफू उपलब्ध हुन नसक्ने बताएका थिए । उनले आफ्नो पिताको नजिकै बस्न चाहेको बताएका थिए । लाजको बर्खास्तीपछि स्टिभ डेभिस क्लबको कार्यवाहक प्रशिक्षक रहेका थिए । डेभिसले अब लोपेटेगुइको आगमन नहुन्जेलसम्म क्लब हेर्नेछन् । लोपेटेगुइ विश्वकप सुरु भएपछि क्लबमा आउनेछन् । उनले डिसेम्बर २६ मा एभर्टनविरुद्ध पहिलो अधिकारिक खेल हेर्नेछन् ।

लोपेटेगुइ यसअघि सेभियाका प्रशिक्षक थिए ।सेभियामा ३ वर्ष बिताएका उनले सन् २०२० मा युरोपा लिग उपाधि जितेका थिए । अक्टोबरमा सेभियाले बर्खास्त गरेपछि उनी क्लबविहिन रहेका थिए । लोपेटेगुइ यसअघि स्पेनको राष्ट्रिय टोलीको प्रशिक्षक रहेका थिए ।

सन् २०१८ मा विश्वकप सुरु हुनुअघि नै रियल म्याड्रिडको प्रस्ताव स्वीकारेपछि उनले विश्वकपमा प्रशिक्षक पद छोड्नुपरेको थियो । उनलाई सन् २०१६ मा पनि वल्भ्सले प्रशिक्षक पदमा अनुबन्ध गर्न प्रयास चालेको थियो ।