काठमाडौँ—स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार साउनयता ५४ जनाको डेंगु सङ्क्रमणकै कारण मृत्यु भइसकेको छ। यस्तै ७६८ जनामा सङ्क्रमण पुष्टि भएको छ। डेंगुले महामारीकै रूप लिन लागिरहँदा समेत यसको नियन्त्रणमा सरकारको चासो भने देखिँदैन। यस विषयमा ठोस र सक्रिय अध्ययन अनुसन्धान गरेको पनि देखिँदैन। यता चिकित्सकहरू भने पहिलो पटकभन्दा फरक प्रकार (सेरोटाइप)को डेंगु सङ्क्रमण भए स्वास्थ्यमा जटिलता निम्तने जोखिम बढी हुने भन्दै सजग गराउँछन्।
दोस्रो पटक फरक सेरोटाइपको डेंगु सङ्क्रमण भएको खण्डमा स्वास्थ्यमा जोखिम बढ्ने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा शेरबहादुर पुन बताउँछन्।तर, पहिलो पटक डेंगुको जुन सेरोटाइपले सङ्क्रमण गर्यो अर्को पटक पुन त्यही सेरोटाइपले सङ्क्रमण गरेमा भने स्वास्थ्य जटिलता न्यून हुने उनले बताए। चार प्रकारका डेंगुका सेरोटाइपमध्ये पहिले जुन प्रकारले सङ्क्रमण गर्यो पुनः त्यही सेरोटाइपले सङ्क्रमण गर्यो भने त्यो खतरा हुने सम्भावना न्यून हुने तर फरक सेरोटाइपले सङ्क्रमण गर्यो भने त्यो धेरै कडा हुनसक्ने डा पुन बताउछन् ।डेंगु– १, डेंगु–२, डेंगु–३ र डेंगु–४ गरी चार प्रकारका डेंगु हुने डा पुन बताउँछन्। स्वास्थ्य परीक्षण गरी कुन प्रकारको डेंगु हो भन्ने पत्ता लगाउन सकिन्छ ।
डेंगुको सेरोटाइप–१ लागेको छ र अर्को वर्ष सेरोटाइप २, ३, ४ ले सङ्क्रमण गराए बढी कडा लक्षण देखिने डा पुनको भनाई छ । त्यसो त व्यक्तिमा यी चारमध्ये जुन प्रकारको डेंगु भएको हो त्यही प्रकारको डेंगु नदोहोरिने टेकु अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा विमल शर्मा चालीसेले बताए । त्यसो त एक पटक डेंगु सङ्क्रमण भएर ठीक भइसकेपछि केही समयका लागि चारै प्रकारका डेंगुको भाइरसविरुद्ध लड्ने रोग प्रतिरोधात्मक क्षमता बढ्ने उनको दावी छ।त्यसैले एकपटकभन्दा बढी सङ्क्रमण हुँदा पहिलेको भन्दा भिन्दै प्रकारको डेंगु हुने डा चालीसे बताउँछन्। त्यसैले पहिलो पटकपछि डेंगु सङ्क्रमण भएको खण्डमा स्वास्थ्य जटिलता निम्तने जोखिम बढी हुने उनले बताए।
त्यसो त एक पटक डेंगु सङ्क्रमण भएर ठीक भइसकेपछि केही समयका लागि चारै प्रकारका डेंगुको भाइरसविरुद्ध लड्ने रोग प्रतिरोधात्मक क्षमता बढ्ने उनको दावी छ।चिकित्सकको मतअनुसार सामान्यतया एकपटक डेंगु भएपछि १,२ वर्ष पुनः डेंगु हुने सम्भावना ज्यादै न्यून हुन्छ। यस्तै एक ठाउँमा एक सेरोटाइपको देखिएको डेंगु अर्को ठाउँमा अर्को देखिनसक्छ। हरेक शहरमा डेंगु सक्रमणको सेरोटाइपको अध्ययन गर्न जरुरी हुने चिकित्सक बताउँछन्।
डेंगु सङ्क्रमण भएको व्यक्तिमा ज्वरो हराएपछि अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुने डा चालीसेले जानकारी दिए। १६ डिग्रीभन्दा बढी तापक्रम यो जातको लामखुट्टेको लागि उचित वातावरण भएको चिकित्सक बताउँछन्। नेपालमा चिसो मौसम सुरु भएसँगै डेंगु सङ्क्रमण कम हुँदै जाने देखिन्छ। काठमाडौं उपत्यकाका अस्पतालहरूमा नयाँ डेंगु संक्रमितको चाप कम हुँदै गए पनि सक्रिय संक्रमितको चाप भने अझै छ।


प्रतिक्रिया