Breaking

यो राजधानी हो यहाँ भोट किन्न पाइँदैन : प्रदीप पौडेल


काठमाडौँ – नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले मतदाताको मत र विवेकमाथि पैसाको चलखेल गर्नेहरुमाथि खबरदारी गरेका छन् ।

काठमाडौँ क्षेत्र नं ५ का उम्मेदवार समेत रहेका नेता पौडेलले निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा बोल्दै मतदाताको मत किन्ने खराब मनोवृत्ति भएका व्यक्तिहरुप्रति आक्रोश व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले राजधानीमा विवेकी मतदाता रहेका कारण यहाँ कसैले पनि मतदाताको मत र विवेक किन्न नसक्ने बताए । यस क्षेत्र चेतना बोकेको मान्छेहरु बसेको कारण पनि कसैको पनि मत किन्ने कोसिसलाई सफल हुन नदिने बताए । ‘यो राजधानी हो यहाँ भोट किन्न पाइँदैन ।

राजधानीको भोट पैसाले किनिदैन । मान्छेको विवेक किन्ने पिपासुहरु, मान्छेको विचार किन्न पनि पछि नपर्ने अहंकारीहरु यही काठमाडौंमा भेटिन्छन् ।’ उनले भने, ‘तर उनीहरुको प्रयास सफल हुँदैन । यो विवेक बोकेका मान्छेहरुको बस्ती हो । यो चेतना बोकेका मान्छेहरु बसेको ठाउँ हो । यो देशलाई सन्देश दिने ठाउँ हो ।’

त्यसैगरी आगामी निर्वाचनमा कांग्रेस पार्टी र गठबन्धनभित्रको एकता निर्वाचन परिणामले देखाउने बताए । उनले कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीको आन्तरिक चुनावको प्रतिष्पर्धालाई चुनावका बेला ल्याएर मत र मन विभाजन गर्न खोजिएको र त्यसलाई चिरेर अघि बढ्नेमा आफूहरु रहेको बताए ।

‘पार्टीको नम्सलाई स्वीकार गरेर, संस्थागत निर्णयलाई मानेर अघि बढ्ने हाम्रो चरित्र हो । त्यसैले कांग्रेस र गठबन्धनका उम्मेदवारले जित्दैनन् भनेर भ्रम सिर्जना गर्न खोजिएको छ । ’उनले भने, ‘भ्रम सिर्जना गर्नेहरुलाई हामीले देखाउँनेछौँ । हामीभित्र कस्तो एकता छ भनेर ।’

त्यसैगरी आफूहरु संस्थागत निर्णय मान्ने चरित्रबाट हुर्किएको बताउँदै नेतृत्वले गल्ती गर्दा समेत आफूहरुले मर्यादामा रहेर औला उठाउने गरेको स्पष्ट पारे ।

‘हामी नेतृत्वले गल्ती गरे पनि नेतालाई भन्न पछि पर्दैनौँ ।’ उनले भने, ‘यो गल्ती भयो भन्दै मर्यादा राखेर त्यसप्रति औँला ठड्याउछौँ ।’ त्यसैगरी यसअघि जितेर गएकाहरुले विकास निर्माणको काम गर्न नसकेको भन्दै आफूहरुले घोषणापत्रको आधारमा काम गरेर देखाउने प्रतिबद्धता समेत व्यक्त गरे ।