Breaking

सन्दीपविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस


काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको बलात्कार मुद्दामा आज पनि थुनछेक बहस हुँदैछ ।

काठमाडौँ जिल्ला अदालतमा आज सन्दीपको तर्फबाट अधिवक्ता शम्भु थापालगायतले बहस गर्दैछन् । सरकारी वकीलको तर्फबाट पनि बहस हुने छ । सन्दीपका तर्फबाट बिहीवार ८ जना अधिवक्ताले बहस गरेका थिए । बिहीबार बहस नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको थियो ।

कात्तिक १४ गते सोमबार काठमाडौँ जिल्ला अदालतमा बलात्कार मुद्दा दायर भएको थियो । उक्त मुद्दामा मंगलबारबाट बयान शुरु भएको थियो । प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले सन्दीपलाई १० देखि १२ वर्षसम्म कैद सजाय र पीडितलाई क्षतिपूर्ति माग दाबी गर्दै मुद्दा दायर गरेको छ ।

गत भदौ ५ गते राति तिलगंगाको एक होटलमा लगेर सन्दीपले १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप छ । पीडितको पक्षबाट भदौ २१ गते गौशाला प्रहरीमा उजुरी परेको थियो । उजुरी पर्दा सन्दीप क्यारेबियन लिग खेल्न वेष्टइन्डिजमा थिए । उतैबाट अमेरिका पुगेका उनी २० असोजमा नेपाल फर्किएका थिए । सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रहरीले पक्राउ गरेको थियो ।