समाचार

आजबाट मतदाता शिक्षा कार्यक्रम सुरु


काठमाडौँ – आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज शुक्रबारबाट मतदाता शिक्षा कार्यक्रम सुरु हुँदैछ । मतदाता शिक्षा कार्यक्रममार्फत मतदातालाई मतदान गर्ने सही तरिका सिकाइनेछ ।

निर्वाचन आयोगका अनुसार देशका ७७ वटै जिल्लाका ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वडाका घरमा मतदाता शिक्षा कार्यक्रम आयोजना गरिनेछ । यसका लागि आयोगले प्रत्येक वडामा रहेका स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा कार्यकर्ता तोकेर खटाउँदै छ । केही वडामा एक स्वास्थ्य स्वयंसेविकाले अपुग भए थप एक परिचालन गर्ने तयारी छ ।

मतदाता शिक्षाका लागि हुने घरदैलोमा मतदान गर्ने तरिकासहित निर्वाचनका लागि जानकारीमूलक सामग्रीहरु वितरण गरिने जनाइएको छ । मतदाता शिक्षा कार्यक्रममा खटिने स्वास्थ्य स्वयंसेविकालाई स्थानीय तहले नै पारिश्रमिक उपलब्ध गराउनेछ भने तालिमसमेत स्थानीय तहमार्फत नै प्रदान गरिएको छ ।

पछिल्ला निर्वाचनमा बदर मतसंख्या अत्यधिक हुन थालेपछि मतदाता शिक्षा कार्यक्रम थप आवश्यक देखिएको छ ।