काठमाडौँ – अहिले (बिहीबार बिहान ६ः२७ बजे मौसमविद्सँग कुरा गर्दा) देशका पहाडी र हिमाली भेगमा आंशिक बदली छ । पूर्वको हिमाली भेगमा मौसम आंशिकदेखि सामान्य बदली छ । अन्य स्थानमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आंशिक बदली भनेको आकाश २६ प्रतिशतदेखि ५० प्रतिशतसम्म बादलले ढाकेको, सामान्य बदली भनेको आकाश ५१ प्रतिशतदेखि ७५ प्रतिशतसम्म आकाश बादलले ढाकेको, सामान्यतया सफा भनेको आकाश २५ प्रतिशत बादलले ढाकेको अवस्था हो । पूर्ण बदली भनेको चाहिँ आकाश ८८ प्रतिशतभन्दा बढी बादलले ढाकेको अवस्था हो ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति देशका पहाडी भेगका आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।
महाशाखाले दिएको जानकारीअनुसार आज बिहान ५:४५ को मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस छ । यो पुनः बिहान ८:४५ बजे अपडेट हुनेछ भने त्यतिबेला देशका अन्य स्थानका न्यूनतम तापक्रमको विवरण पनि आउनेछ ।
प्रतिक्रिया