Breaking

अबको प्रधानमन्त्री को ? देउवाविरुद्ध गगन, प्रचण्डलाई उचाल्दै बाबुराम, ओली एक्ला दाबेदार


काठमाडौँ — आसन्न मंसिर ४ को निर्वाचन राजनीतिक दलको जित–हारसँगमात्रै सम्बन्धित छैन । चुनावपछि बन्ने सरकार र यसको नेतृत्वमा आउने अनुहारलाई लिएर समेत चासो चिन्ता व्यक्त भइरहेका छन् । मंसिर ४ को निर्वाचनपछि पनि प्रधानमन्त्री बने शेरबहादुर देउवा छैंटौपटक यो देशको नेतृत्वमा पुग्नेछन् । र यो सम्भावना सबैभन्दा बलियो र चुनौतीरहित पनि देखिन्छ ।किनकि पाँच दलीय गठबन्धनको नेतृत्व गरेको दल नेपाली काँग्रेसको सभापति पनि देउवा नै हुन् ।देउवाको दाबीका अघि गठबन्धनभित्रकै दलबाट खरो प्रतिवादी स्वर बाहिरिएको छैन ।

यसैकारण निटकस्थ नेताहरु देउवा नै अबको प्रधानमन्त्री रहेको बताउन थालेका छन् । बुधबार काँग्रेस प्रवक्ता प्रकाशशरण महतले अबको प्रधानमन्त्री पनि देउवा नै हुने दाबी गरे । सत्ता गठबन्धनमा सबैभन्दा ठूलो दल काँग्रेस नै भएकाले अबको प्रधानमन्त्री पनि देउवा नै बन्नेमा कसैको दुईमत नभएको दाबीमहतको छ । उस्तै दाबी यसअघि केन्द्रीय सदस्य डिला संग्रौलाले पनि गरेकी थिइन् ।

तर काँग्रेसभित्रबाटै महामन्त्री गगनकुमार थापाले मंसिर ४ पछिको प्रधानमन्त्रीका रुपमा आफुलाई उभ्याउन खोजेका छन् । काँग्रेसमा सभापति देउवाको विकल्प खोज्न लागिपरेका थापाले यसैलाई एजेन्डा बनाएर चुनावमा हाम फालेका मात्रै छैनन्, अब ड्राईभिङ सिटमा बसेर नेतृत्व गर्ने बेला भएको दाबी गरिरहेका छन् ।तर काँग्रेसबाट प्रधानमन्त्री बन्ने पालो आफ्नो रहेको भन्दै १४ औं महाधिवेशनमा सभापति हारेका प्रकाशमान सिंह पनि चुनाव जित्न खोज्दैछन् ।

काँग्रेसबाट शशांक कोइराला र रामचन्द्र पौडेलको दाबी पनि प्रधानमन्त्रीकै लागि छ । संस्थापनइतर पक्षले शेखर कोइराला अबको प्रधानमन्त्री रहेको हल्ला नफिजाएको पनि होइन । तर काँग्रेसका यी सबै आकांक्षीलाई माथ खुवाएर अबको प्रधानमन्त्री बन्ने पालो मेरो भन्दै गठबन्धनभित्रबाटै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्तिम तयारीमा छन् ।

चुनावको मिति घोषणापूर्व नै पटकपटक आफुलाई आगामी प्रधानमन्त्रीका रुपमा देख्न थालेका प्रचण्डले अहिले पनि देउवाकै समर्थनसहित प्रधानमन्त्री बन्ने छिद्र खोजिरहेका छन् । तर यसलाई जोडतोडले उठाउन प्रचण्ड अझै सशंकित छन् । किनकि प्रधानमन्त्रीको चाहना व्यक्त गर्नवित्तिकै काँग्रेसीको भोट माओवादीले नपाउने बुझेका प्रचण्डले घुमाउरो शैलीमा भने अबको प्रधानमन्त्री आफैलाई दाबी गरेका छन् ।

केहीदिनअघि मात्रै सबैले अबको प्रधानमन्त्री तपाईँ नै हो भन्ने गरेको र आफ्नो इच्छा पनि रहेको सार्वजनिक गरेका थिए । यही कुरा पूर्वप्रधानमन्त्री तथा अहिले प्रचण्डलाई सारथी बनाएर गोरखा पु¥याएका डा. बाबुराम भट्टराईले समेत सार्वजनिक गरेका छन् ।

गठबन्धनभित्रका दलहरुमा इमान्दार चुनावी तालमेल बने अबको सरकारको नेतृत्व पनि गठबन्धनभित्रकै दलले गर्नेछन् ।तर स्थानीय तहजस्तो २८ प्रतिशतकै शैलीमा तालमेल सफल भएको खण्डमा धेरैका सपनामा पानी छ्यापीने छ ।असन्तुष्टि बढेर चुनावपछि समीकरणमै फेरबदल आउनसक्ने सम्भावनालाई पनि नर्कान मिल्दैन । किनकि सत्ता गठबन्धन साझा उम्मेदवारसहित चुनावमा होमिसक्दा समेत प्रधानमन्त्रीको साझा उम्मेदवार देखाउन सकिरहेको छैन् ।

तर गठबन्धनमा प्रधानमन्त्रीकै हानथाप चलिरहेका बेला विपक्षमा रहेको प्रमुख शक्तिले भने प्रधानमन्त्रीको एकल उम्मेदवार सार्वजनिक गरेको छ । चुनावपछि आफ्नै सरकार बन्ने दाबीसहित एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई निर्विवादित प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ ।तर ठूला राजनीतिक दलबाट पुरानै नेतृत्वलाई प्रधानमन्त्रीका रुपमा अघि सारिरहँदा आम जनताले नयाँ अनुहारलाई प्रधानमन्त्रीका रुपमा हेर्न चाहेका छन् ।