Breaking

एकीकृत समाजवादीका जिल्ला नेता तथा कार्यकर्तासहित ४६१ जना एमालेमा प्रवेश


काठमाडौँ — नेकपा एकीकृत समाजवादी तनहुँ सचिव दुर्गाकुमार श्रेष्ठसहित ४६१ जना एमालेमा प्रवेश गरेका छन् । एमाले प्रवेश गर्नेहरूमा श्रेष्ठसहित कार्यालय सदस्य एवं युवा संघ नेपालका केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका अध्यक्ष कमल गैह्रेलगायत जिल्ला कमिटीका १७ जना सदस्य छन् । यस्तै शुक्लागन्डकीको सिङ्गो नगर कमिटी, सम्पूर्ण वडा कमिटी तथा युवा संघ तनहुँका अध्यक्ष जीवन भट्टराई सहित युवा संघको सिङ्गो जिल्ला कमिटी टिम पनि एमालेमा फर्केको छ ।

तनहुँमा भएको कार्यक्रममा उनीहरुलाई नेकपा एमालेका स्थायी कमिटीका सदस्य एवं प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार किरण गुरुङ, एमाले पोलिट्व्युरो सदस्य एवं तनहुँ जिल्ला इञ्चार्ज टुकराज सिग्देल लगायतले स्वागत गरेका थिए । तनहुँमा स्थानीय तहको चुनावदेखि नै गठबन्धनका अन्य दलले एकीकृत समाजवादीको अवमुल्यन गरेको तर पार्टी नेतृत्वले त्यसमा कुनै ध्यान नदिएका कारण पार्टी छाड्नु परेको श्रेष्ठले बताए ।

तनहुँमा कुनै सिट नपाए पनि एकीकृत समाजवादीले उम्मेदवार उठाएको थियो । तर पार्टीको नेतृत्वले उनीहरुलाई उम्मेदवारी फिर्ता गर्न लगाएपछि एकीकृत समाजवादीका जिल्ला नेता तथा कार्यकर्ता असन्तुष्ट छन् ।