पर्यटन

अमेरिकी राजदूतले गरे बौद्धनाथ र हिमालयन संग्रहालयको अवलोकन


कठमाडौँ – नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डीन आर थम्पसनले बौद्धस्थित ‘हिमालयन संग्रहालय’ अवलोकन गर्नुभएको छ । थम्पसनले बौद्धनाथ स्तुपाको समेत अवलोकन गर्नु भएको हो ।

पश्चिमाहरु नेपालको बौद्ध धर्म र बौद्ध गुम्बाहरुमा निकै चासो र लगानी गर्दै आएका समाचारहरु आउने गरेकोमा थम्पसनले पनि यसमा चासो दिनु अर्थपूर्ण देखिन्छ । बौद्धनाथ स्तुपा पर्यटकहरुले आकर्षणको एक केन्द्र रहनुका साथै बौद्ध धर्मावलम्बीहरुको आस्थाको स्थल पनि हो ।

यहाँको शान्त, सफा वातारवरणले पर्यटकहरुलाई थप आकर्षण थप्ने गरेको छ । हिमालयन संग्रहालयमा तिब्बती संस्कृति, बुद्ध धर्म र संस्कृति झल्किने करिब छ सय सामानहरु राखिएका छन् । यो चाँडै औपचारिक सञ्चालनमा आउने तयारीमा छ । राजदूत थम्पसनले हिमालयन संस्कृति पुर्खाको संस्कृति भएको र हिमालय, तिब्बत र बुद्ध धर्म संस्कृतिको निकै महत्व रहेको बताउनुभयो ।

संग्रहालयका अध्यक्ष तेन्जिन शिमिजुले हिमालय र तिब्बतको संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनुभयो । अबको ३ हप्तामा औपचारिक संचालनमा ल्याउने तयारी भइरहेको शिमिजुले जानकारी दिनुभयो । शिमिजुले बौद्ध धार्मिक स्थल भएको र यस क्षेत्रभित्र तिब्बत, नेपाल र हिमालयको संस्कृति झल्काउने गरी संग्रहालय निर्माण गरेको बताउनुभयो ।