Breaking

सोलुखुम्बुमा केसी, राई र शेर्पाबीच त्रिपक्षीय भिडन्त, कसले मर्ला बाजी ?

कांग्रेस र माओवादीको तिक्ततापूर्ण सम्बन्ध


काठमाडौँ — एक मात्रनिर्वाचन क्षेत्र भएको सगरमाथाको जिल्ला सोलुखुम्बुमा आगामी प्रतिनिधि सभा निर्वाचनमा त्रिपक्षीय प्रतिष्पर्धा हुने भएको छ ।

नेकपा एमाले, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)बीच मुख्य प्रतिष्पर्धा छ । सोलुखुम्बुबाट संसद भवन छिर्नका लागि नेकपा एमालेले केन्द्रीय सदस्य मानवीर राईलाई उम्मेदवार बनाएको छ । सत्तारुढ गठबन्धनको साझा उम्मेदवारको रुपमा कांग्रेसले केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बलबहादुर केसीलाई अघि सारेको छ । जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय सदस्य ल्हाक्पा शेर्पालाई उम्मेदवार बनाएको छ ।

२०४८ सालदेखि निरन्तर उम्मेदवार बनेका केसी सातौं पटक चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ । सोलुखुम्बुमा केसीसँग चुनावी प्रतिस्पर्धा गर्न एमालेले अघि सारेका युवा उम्मेदवार मानवीर राई पहिलोपटक चुनावी मैदानमा उत्रिनु भएको हो । जसपाका ल्हाक्पा शेर्पा दोस्रो पटक प्रतिस्पर्धाको मैदानमा उत्रिनुभएको छ ।

सोलुखुम्बुमा सोलु–दुधकुण्ड नगरपालिकासहित ८ वटा स्थानीय तह छन् । स्थानीय तहको निर्वाचलाई हेर्ने हो भने कांगे्रसले ५, एमाले २ र माओवादीले १ स्थानीय तह जितेका छन् ।

स्थानीय तहको मत परिणाम अनुसार सोलुखुम्बुमा कांग्रेस पहिलो पार्टी हो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छ । त्यस बेला वडाध्यक्षका उम्मेदवार मध्ये कांग्रेसले १९ हजार ६८, एमालेले १६ हजार ५९७ र माओवादी केन्द्रले १२ हजार ४२५ मत पाएका छन् ।

स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनको बढी मत रहे पनि कांग्रेसको आन्तरिक विवाद केसीका लागि मूख्य चुनौती बनेको छ । सोलुखुम्बु कांग्रेसमा निरन्तर एउटै व्यक्तिले राजनीतिक लाभ लिइरहेको भन्दै चरम असन्तुष्टि छ । उम्मेदवार सिफारिसकै बेला असन्तुष्टि व्यापक रूपमा देखिएको थियो । कांग्रेसमा बलबहादुर केसी शेखर कोइराला खेमामा छन् । सोलुखुम्बु कांग्रेसका सभापति भने केन्द्रीय सभापति शेरबहादुर देउवा निकटका नाम्गेल जाङ्बु शेर्पा छन् । सोलुखुम्बु कांग्रेसमा देउवा पक्ष हाबी छ ।

सोलुखुम्बुबाट कांग्रेसले केन्द्रीय सदस्य आङ गेलु शेर्पाको नाम प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा सिफारिस गरेको थियो । तर, केसीले शेर्पालाई उम्मेदवार हुन नदिएर प्रतिनिधिसभा सदस्य उम्मेदवारको टिकट आफैंले लिएका थिए । त्यसैले अहिले आङ गेलु शेर्पा पक्ष सोलुखुम्बुमा केसीसँग असन्तुष्ट छ ।

अर्कोतर्फ, माओवादी केन्द्रमा पनि टिकटकै विषयलाई लिएर विवाद छ । सत्तारूढ गठबन्धनमा सिट बाँडफाँटका लागि बनाएको मापदण्ड अनुसार सोलुखुम्बुको टिकट माओवादी केन्द्रका हेमकुमार राई ‘सुरवीर’पाउनु पर्ने हो । तर, एका एक गठबन्धनमा सोलुखुम्बु कांग्रेसलाई दिने सहमति बनेको थियो ।

माओवादी केन्द्रका नेताहरुले जिल्ला नेतृत्वले कांग्रेसका उम्मेदवारसँगको साँठगाँठमा टिकटको दाबी छाडेको भन्दै असन्तुष्टि जाहेर गरेका थिए । सोही कारण सोलुको माओवादी केन्द्र २ खेमामा विभाजित छ । माओवादीको जिल्ला नेतृत्व गठबन्धनलाई जिताउने पक्षमा छ भने असन्तुष्ट पक्ष सहयोग नगर्ने मूड रहेकाले केसीलाई सोलुबाट जित निकाल्न फलामको चिउरा सरह रहेको छ ।

यसैको फाइदा उठाउँदै नेकपा एमालेका उम्मेदवार मानवीर राई भने सोलुखुम्बुमा आफू एमालेबाट उम्मेदवार भएपनि सोलुखुम्बुका लागि साझा व्यक्तित्व भएकाले चुनाव जित्ने निश्चित रहेको दाबी गर्छन् । पहिलो पटक संसद छिर्ने आशा सहित एमालेबाट उम्मेदवार बनेका राईलाई पार्टी मात्र नभई बाहुल्यता रहेको राई जातिको जातिय मतको ठुलो आशा छ ।

सोलुखुम्बुको विकास र निराशालाई आशामा परिणत गर्न भए पनि आफु जित्नुको विकल्प नभएको उनको दावी छ । भने जसपाका ल्हाक्पा शेर्पा भने नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेका असन्तुष्ट पक्ष र सोलुखुम्बुको युवा पुस्तको साथ सहयोक रहेकाले आफ्नो निश्चित रहेको दाबी गर्छन ।

कांग्रेस, माओवादी, नेकपा एस र एमालेले पनि आफुलाई नै भोट हाल्ने र जितेर सोलुखुम्बुलाई अभिभावकीय जिम्मेवारी दिने गरी चुनावी तयारी गरिरहेको शेर्पा बताउछन् । शेर्पाले यसअघि चुनाव जितेका उम्मेदवारले सोलुखुम्बुको विकास र समृद्धिमा योगदान गर्न नसकेकाले मतदाताले विकल्प खोजेको र आफू उपयुक्त विकल्प भएको शेर्पाको दाबी छ ।
एमालेले सोलुखुम्बुमा अहिलेसम्म प्रतिनिधि सभाको चुनाव जितेको रेकर्ड छैन । यस पटक राईलाई चुनाव जितेर रेकर्ड कायमगर्ने अवसर र चुनौती दुवै छ । केसीले २०७४ सालमा चुनाव हारेपछि अब कहिल्यै चुनाव नलड्ने घोषणा गरेका थिए । आफू पार्टी शुद्धीकरणमा लाग्ने उनले बताएका थिए ।

प्रदेशमा एमालेले गत निर्वाचनमा विजयी प्रदेश (क) का उत्तमकुमार बस्नेत र (ख) का बुद्धिकुमार राजभण्डारीलाई उम्मेदवार बनाएको छ । गठबन्धनले प्रदेशमा माओवादी केन्द्रबाट गम्बु शेर्पा र शिवबहादुर बस्नेतलाई उम्मेदवार बनाएको छ ।

कहिले हुन्छ विकास ?
कृषि, पशुपालन र पर्यटनको प्रचार सम्भावना भएर पनि सोलुखुम्बुमा विकास र समृद्धिले गतिलिन सकेको छैन् । भौगोलिक हिसाबले अत्यन्त विकट सोलुखुम्बुका जनताले अहिलेसम्म राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् उपभोग गर्न पाएका छैन् । सोलुखुम्बुमा लघु जलविद्युत् र सोलारबाटै जनताले विद्युतउप भोग गरिरहेका छन् । सोलुखुम्बुका अधिकांश जनताले कालोपत्रे सडक देख्न घण्टौंको यात्रा गर्नु पर्ने बाध्यता छ ।

कांग्रेस र माओवादीको तिक्ततापूर्ण सम्बन्ध
सोलुमा गठबन्धनमा रहेको माओवादी केन्द्र र कांग्रेसको सम्बन्ध तिक्ततापूर्ण छ । २०६४ सालको चुनावमा सिसाखोलामा माओवादी र कांग्रेसका कार्यकर्ताबीच झडपमा हुँदा लिखुपिके गाउँपालिकाका माओवादीका गजेन्द्र भुजेलको ज्यान गएको थियो । माओवादीको कुटाइबाट केसी आफैं घाइते भएका थिए ।

२०७० सालको चुनावी चुनाव प्रचारकै क्रममा देउसामा कांग्रेस कार्यकर्ताको आक्रमणबाट माओवादीकी रश्मी राईको ज्यान गएको थियो । गतवै शाखमा सम्पन्न स्थानी यतहको निर्वाचनमा पनि कांग्रेस र माओवादी कार्यकर्ताबीचको झडपमा सोताङ गाउँपालिकामा माओवादी कार्यकर्ता सुदीप राईको ज्यान गएको थियो । यस कारण सोलुमा गठबन्धनको सम्बन्ध तिक्ततापूर्ण रहेकाले यसको फाइदा एमाले र जसपाले लिन सक्छन् ।