Breaking

सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने कि बाहिर ?


काठमाडौँ – बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने कि बाहिर रहेर मुद्दा लड्न दिने भन्ने विषयमा आज (बुधबार) निर्णय हुँदै छ ।

उनीविरुद्ध जिल्ला अदालत काठमाडौँमा परेको बलात्कार मुद्दामा आज थुनछेक बहस हुने भएको हो । आजको बहसपछि उनलाई पुर्पपक्षका लागि थुनामा पठाउने कि बाहिर राख्ने भन्ने विषयमा निर्णय हुनेछ ।

पुर्पपक्षका लागि थुनामा राख्ने निर्णय भएमा मुद्दाको अन्तिम किनारा नलाग्दासम्म सन्दीप जेलमा हुनेछन् । उनविरुद्धको मुद्दाको पेसी मंगलबार न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको थियो । सन्दीपसँग अदालतले बयान लिइसकेको छ ।

सरकारी वकिलको कार्यालयले सन्दीप लामिछानेविरूद्ध सोमबार मुद्दा अदालतमा दर्ता गरेको हो । प्रहरीले कात्तिक ४ गते नै उनीविरूद्धको अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । तर तिहार बिदा भएकाले मुद्दा दर्ता हुन सकेको थिएन ।

लामिछानेले नाबालिगलाई गत भदौ ५ गते काठमाडौँको एक होटलमा लगेर दुईपटक बलात्कार गरेको आरोप छ । बलात्कार आरोपमा उनलाई १० देखि १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको छ । यस्तै ५ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउनुपर्ने माग पनि अभियोग पत्रमा गरिएको छ ।

बलात्कार आरोपमा लामिछाने गत असोज २० गते पक्राउ परेका हुन् । त्यसको एक महिना पहिले उनीविरुद्ध प्रहरीमा बलात्कारको जाहेरी परेको थियो ।

किशोरीको नागरिकता अनुसार १८ वर्ष मात्रै पुगेको देखिए पनि वास्तविक उमेर भने १९ वर्ष रहेको सन्दीप र उनका कानुन व्यवसायीको दाबी छ । तत्काल प्राप्त प्रमाणबाट सन्दीप निर्दोष भन्न सकिने अवस्था अदालतले नदेखेमा उनलाई कारागार पठाउने आदेश हुनेछ ।